जेठ १५ को आन्दोलन निर्णायक बनाउने लिङ्देनको उद्घोष

लोकपथ
546
Shares
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी जेठ १५ गतेबाट राजतन्त्र पुनस्थापनाको निर्णायक आन्दोलन गर्ने घोषणा गरेका छन् ।

मंगलबार बिहान आजोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका लिङ्देनले शान्तिपूर्ण ढंगबाटै आन्दोलनहरु अघि बढाउने उद्घोष गरे । राप्रपाले आगामी जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा काठमाडौंमा वृहत आन्दोलनको तयारी गरेको छ ।

सो दिनबाट हुने हरेक आन्दोलन आयोजकको पूर्ण नियन्त्रणमा हुने बताउँदै आन्दोलनमा हिंसा भड्किन नदिने बताए ।

‘जेठ १५ गते त सुरु हुने हो । शान्तिपूर्ण हुन्छ, आयोजकको पूर्ण नियन्त्रणमा हुन्छ । हाम्रोतर्फबाट कुनै पनि हिंसात्मक कृयाकलाप हुँदैन,’ उनले भने, ‘अरुलाई पनि हामीले हिंसा गर्न दिँदैनौं । भनेको, सरकारलाई पनि कुनै पनि प्रकारको दमन गर्ने र शान्तिपूर्ण प्रदर्शनलाई हिंसामा भड्काउन दिँदैनौं ।’

त्यस्तै केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा बोलेको विषयमा टिप्पणी गरे । प्रधानमन्त्री ओलीले आफूहरु बुढो भइसकेकाले कहीँ भाग्न नसक्ने भन्दै राजावादीहरुप्रति व्यंग्य गरेका थिए ।

सो प्रशंगमा टिप्पणी गर्दै लिङ्देनले भने, ‘अस्ती प्रधानमन्त्रीले संसदमा भन्नुभयो अब उमेरको हिसाबले पनि भाग्न सकिँदैन, भाग त भन्नुभएन नि हो । भाग्न सकिन्न भने पनि सम्झौता नगर्ने हो भने उहाँहरुलाई हेलिकोप्टरबाट जाने मौका दिनुपर्छ हामीले । हेलिकोप्टरको सुविधा प्रयोग गर्न छुट दिने । त्यसरी हामीले हाम्रो आन्दोलन अगाडि लाने हो ।’

त्यस्तै आगामी जेठ १५ गते निर्णायक आन्दोलन बनाउने भन्दै राज संस्थाप्रति आस्थावान सबैलाई आन्दोलनलाई थप बल पुर्याउन समेत आग्रह गरे ।

‘हाम्रो मिहिनेतलाई बढाऔं, हाम्रो क्रियाकलापलाई बढाऔं, हाम्रा छरछिमेकहरुलाई, आफन्तहरुलाई जेठ १५ गतेदेखि हुने आन्दोलनमा सहभागी हुन प्रेरित गरौँ । आन्दोलनमा एक्लैएक्लै आइन्थ्यो भने यो चोटी आफ्नो सिंगै परिवार लिएर आऔँ,’ उनले भने ।

त्यसो त गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक आन्दोलनपछि राजावादी शक्तिहरु एक ठाउँमा आएका छन् । राप्रपा, राप्रपा नेपाल, पूर्व राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदी, पूर्वमन्त्री केशरबहादुर विष्ट लगायतका समूहरु एकै ठाउँमा आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?