काठमाडौं । सरकारले आगामी जेठ १५ गते गणतन्त्र दिवस–२०८२ भव्यताका साथ मनाउँदैछ । यसअघि नै गणतन्त्र दिवसको प्रायोजनका लागि प्रधानमन्त्रीको अध्यक्षतामा गठित समितिको आजका लागि बैठक बोलाइएको थियो ।
उच्चस्तरीय बैठक मानिने सो प्रधानमन्त्रीको अध्यक्षतामा गठित समितिमा महानगरपालिकामा प्रमुख स्वतः पदेन सदस्य रहनेछन् । तर त्यस्ता किसिमका कुनै पनि बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) उपस्थित हुँदैनन् ।
आगामी गणतन्त्र दिवस मनाउन गठित समितिको बैठक सोमबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको थियो ।
उक्त बैठकमा अन्य सदस्यहरु उपस्थित भए । तर निरन्तर अनुपस्थित हुने बालेन आजको बैठकमा समेत उपस्थित थिएनन् ।
बैठकको सुरुमै प्रधानमन्त्री केपी शर्मा ओलीले बालेनको खोजी गरे, तर निरन्तर उपस्थित नभएको भन्दै कटाक्ष गरे ।
आफूहरुले निरन्तर बोलाउने तर कहिल्यै पनि उपस्थित नभएको भन्दै प्रधानमन्त्री ओलीले अर्कोपटकबाट नबोलाउने भन्दै कड्किए ।
‘कहिले पनि नआउने, नाम राखिरहनुपर्ने । मानका खातिर मानको चलन चाहीँ छोड्दा पनि हुन्छ की क्यो हो ! कोही कोही मान्छे हरेक फंग्सनमा राख्ने गर्दछौँ । कहिल्यै देखा पर्दैन । त्यस्तो खालको मान्छे खोज्यो भने भेटिन्छन् की जस्तो लाग्छ । कहिले पनि नआउने, नाम सधैँ टाँस्नुपर्ने, कुनै अर्थ छैन, महत्व नै छैन, अर्थ नै छैन भने सधैँ नाम झुन्ड्याइरहने नगरे पनि हुन्छ । आउनुपर्ने नआइदिने, बोलाउने सधैँ बोलाइराख्नुपर्ने । यस्तो हुँदैन । अर्को पल्टसम्ममा सोधीखोजि गर्नुहोला । हेर्नुहोला रेकर्ड को एक पटक पनि आउँदैन । त्यो रेकर्ड हेरेर आउने हो की होइन सोधेर आउने नभए नाम नराख्नु होला । हरेक पटक इतिहास बनिरहने, नाम छापिरहनुपर्ने, मान्छे नआउने,’ प्रधानमन्त्री ओलीले भने ।
त्यसो त काठमाडौं उपत्यकामा मनाइने विशेष जात्रा लगायतका पर्वहरुमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि विशिष्ट व्यक्तिहरुको उपस्थिति रहन्छ । काठमाडौं महानगरपालिका नै आयोजक हुने कतिपय जात्राहरुमा राष्ट्रपति समेतको उपस्थिति हुन्छ, तर बालेन स्वयम भने उपस्थित नहुने भन्दै आलोचना समेत हुने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया