मोहन बस्नेतले स्वास्थ्य चौकी उद्घाटन गर्ने भएपछि सिन्धुपाल्चोकमा तरंग

लोकपथ
7.2k
Shares

सिन्धुपाल्चोक । जिल्लाको सुनकोशी गाउँपालिका–२ ठोकर्पामा निर्माण गरिएको स्वास्थ्य चौकी भवनको उद्घाटनको विषयमा विवाद देखिएको छ ।

पूर्वस्वास्थ्यमन्त्री समेत रहेका सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित सांसद (हाल निलम्बित) मोहनबहादुर बस्नेतले उक्त स्वास्थ्य चौकी उद्घाटन गर्न प्रचारप्रसार गरिरहेका छन् ।

तर यसअघि नै उक्त स्वास्थ्य चौकी स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गर्ने भन्दै गाउँपालिकाले व्यवस्थापनका लागि १ लाख रुपैयाँ समेत उपलब्ध गराइसकेको छ । तर बस्नेतले नै उक्त स्वास्थ्य चौकी भवन उद्घाटन गर्ने उनी निकटकाहरुले प्रचार गरेपछि गाउँपालिकाले विज्ञप्ति नै जारी गरेर आपत्ति जनाएको छ ।

त्यसो त बस्नेतविरुद्ध सञ्चारमन्त्री रहेका बखत टेलिकम्युनिकेशन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा भ्रष्टाचार गरेको आरोप रहेको छ । उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हुँदा उनी हाल निलम्बनमा रहेका छन् ।

आफू निलम्बनमा रहँदा पनि स्वास्थ्यचौकी भवन उद्घाटनमा आफैँ जान लागेपछि विभिन्न राजनीतिक दलदेखि गाउँपालिकाले समेत विज्ञप्ति निकालेर त्यहाँ नजान सर्वसाधारणलाई आग्रह गरेको छ ।

‘विगतमा कुनै मुद्दा नरहेको अवस्थामा श्री बस्नेतद्वारा सुनकोशी–३ मा निर्मित स्वास्थ्य चौकीको भवन उद्घाटन गरिएको स्मरण गराउन चाहन्छु । तर हाल अदालतमा मुद्दा दर्ता भइसकेको अवस्थालाई मध्यनजर गर्दै यस पटकको उद्घाटन सम्बन्धमा गाउँपालिका अत्यन्त स्पष्ट र दृढ छ । गाउँपालिका स्पष्ट रुपमा विशेष अदालतमा मुद्दा दर्ता भएका अभियुक्त व्यक्तिबाट सो भवनको उद्घाटन नगर्न नगराउन आग्रह गर्दछ । साथै, कुनै पनि संघ संस्थाले गाउँपालिकाको लिखित अनुमति बिना उद्घाटन कार्य नगर्नुहुन र जनप्रतिनिधि तथा कर्मचारीले यस्ता कार्यक्रममा सहभागिता नजनाउनुहुन विशेष अनुरोध गर्दछु,’ गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले विज्ञप्ति जारी गर्दै भनेका छन् ।

यता नेकपा एमाले र माओवादी केन्द्रले समेत विज्ञप्ति निकालेर विरोध जनाएका छन् ।

विशेष अदालतमा मुद्दा दायर भएको अवस्थामा सरकारी भवन उद्घाटन गर्नु कानुनको उल्लंघन रहेको बताउँदै एमाले र माओवादी केन्द्र गाउँपालिका कमिटीले आपत्ति जनाएको छ ।

त्यस्तै ठोकर्पा स्वास्थ्यचौकी भवनको उद्घाटनलाई तत्काल रोक्न समेत आग्रह गरेका छन् साथै यदी नरोकिएमा प्रतिवाद हुने र त्यसको जिम्मेवार सम्बन्धित निकाय र योजनाकारहरु नै लिनुपर्ने भन्दै चेतावनी दिइएको छ ।

‘हामी ठोकर्पा स्वास्थ्यचौकी भवनको उद्घाटन कार्यक्रम तत्काल स्थगित गर्न र सो भवन गाउँपालिका कार्यालयलाई विधि र प्रक्रिया अनुरुप हस्तान्तरण गरी गाउँपालिकाकै संयोजन र नेतृत्वमा उद्घाटन कार्यक्रम तय गर्न सम्बद्ध पक्षहरुको ध्यानाकर्षण गराउँदै कानुनी शासन, पारदर्शिता, जवाफदेहिता र सार्वजनिक सम्पत्तिको सम्मान कायम राख्न समयमै गम्भीरतापूर्वक आग्रह गर्दछौँ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘यदी हाम्रो यस स्पष्ट र औपचारिक आग्रहलाई उपेक्षा गरी अभियुक्तको हातबाट उद्घाटन गराउने चेष्टा गरिएमा जनताको तर्फबाट सशक्त प्रतिवादबाट उत्पन्न हुने र सोको सम्पूर्ण राजनीतिक, कानुनी र सामाजिक परिणामहरुको जिम्मेवारी सम्बन्धित निकाय तथा योजनाकारहरुले स्वयं लिनुपर्ने चेतावनी दिन चाहन्छौँ ।’

त्यसो त बस्नेतको सांसद पद निलम्बन भए पनि जिल्लाका विभिन्न कार्यक्रमहरुमा भने उपस्थित भइरहेको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?