काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले विपद् व्यवस्थापन पूर्वतयारीबारे सदनमा आएर जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै कार्यवाहक सभापति अर्यालले विपद् व्यवस्थापन पूर्वतयारीबारे गृहमन्त्रीको जवाफ माग गरेका हुन् ।
उनले केही दिनदेखि देशका विभिन्न राजमार्गहरू अवरुद्ध रहेको बताए । यसले यस वर्ष पनि वर्षाका कारण ठुलो क्षति हुने अनुमान गर्न सकिने भन्दै समयमै पूर्व तयारीमा जुट्न आग्रह गरे ।
उनले भने, ‘केही दिन अघिदेखि देशका विभिन्न राजमार्गहरू अवरुद्ध भइरहेका छन् । चितवनदेखि मुग्लिङ र मुग्लिङ देखि नागढुंगा सम्मको सडकहरूमा धेरै ठाउँमा अवरुद्ध । एकतर्फी सञ्चालन भइरहेको अवस्था छ । वर्षायाम सुरु हुनुभन्दा अगावै यसले के देखाउँछ भने यस पटकको वर्षामा पनि धेरै जनधनको क्षति हुने सम्भावना देखिन्छ । त्यस कारण विपद् व्यवस्थापनको विषयमा पूर्व तयारी के छ ? यो विषयमा गृहमन्त्रीले सदनमा आएर जानकारी गराउन म सभामुख महोदयमार्फत माग गर्दछु ।’
उनले चितवनदेखि मुग्लिङ र मुग्लिङ देखि नागढुंगा सम्मको सडकहरूमा धेरै ठाउँमा अवरुद्ध रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया