काठमाडौं । मधेस प्रदेश अर्थ मन्त्रालयका तत्कालीन मन्त्री विजय कुमार, बागमती नगरपालिका सर्लाहीका निलम्बित मेयर भरतकुमार थापासहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
उनीहरूमाथि सर्लाहीको बागमती नगरपालिका–४ र १२ को उक्त परियोजना सर्लाहीको वन क्षेत्र अतिक्रमण गरी ढुंगा, गिटी, बालुवा, माटो गैरकानुनी रूपमा उत्खनन गरी माछापोखरी बनाउने भनेर संघ, प्रदेश सरकारसमेतको करोडौँ रकम खर्चेर गैरकानुनी संरचना बनाएकोमा अख्तियारले मुद्दा चलाएको हो ।
३० करोड रुपैयाँ गैरकानुनी अनुदान दिने र लिनेविरुद्ध अख्तियारले उनीहरूसहित बागमती नगरपालिकाकी निलम्बित उपमेयर लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, मधेस प्रदेश अर्थ मन्त्रालयका तत्कालीन कानुन अधिकृत गोकुल भुजेलमाथि मुद्दा दायर गरेको हो ।
माओवादीबाट निर्वाचित मेयर थापा यसअघि पनि भ्रष्टाचार र अकूत सम्पत्ति आर्जनको मुद्दा खेपिरहेका छन् । यस्तै, उपमेयर मुक्तान पनि माओवादी केन्द्रका हुन् । पूर्वअर्थमन्त्री विजय कुमार जसपा नेपालका हुन् ।
अख्तियारका अनुसार पूर्वमन्त्री विजय कुमारसँग २९ करोड ९९ लाख ८६ हजार १३५ बिगो दाबी गरिएको छ । मेयर थापा र उपमेयर मुक्तानसँग ५६ करोड ७१ लाख ७ हजार २९२ बिगो माग दाबी गरिएको छ ।
मन्त्रालयका कानुन अधिकृत भुजेलसँग २९ करोड ९९ लाख ८६ हजार १३५ रुपैयाँ, नगरपालिकाका इन्जिनियर निरञ्जन लामिछानेसँग १० करोड १४ लाख ९५ हजार, हाल निलम्बित इन्जिनियर सागर पौडेलसँग ४६ करोड ५६ लाख १२ हजार २९२, लेखा अधिकृत विश्वराज पोखरेलसँग ५६ करोड ३ लाख ३४ हजार ४०४ रुपैयाँ, बिगो माग गरिएको छ ।
तत्कालीन इन्जिनियर निरञ्जन लामिछाने, सागर पौडेल, लेखा अधिकृत विश्वराज पोखरेल मेयर, उपमेयर, प्रशासकीय अधिकृतसहित यी सबै कर्मचारी यसअघिकै भरत ताल भ्रष्टाचार प्रकरणमा मुद्दा दर्तापछि निलम्बित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया