सांसद कार्कीको आरोप : ‘मन्त्रीज्युहरु आएर संसद्मा भिडियो गेम खेलेर बस्छन्’

लोकपथ
238
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले मन्त्रीहरू संसद्मा भिडियो गेम खेलेर बस्ने गरेको आरोप लगाएकी छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन् । 

उनले संसद् ढाँट्ने थलो रहेको महसुस भएको बताइन् । उनले संसद् आत्मसम्मानलाई धितो राख्ने ठाउँ रहेको भन्दै संसद् जत्तिको निरस ठाउँ अरू नरहेको बताइन् । मन्त्रालयगत बजेटको बाँडफाँड भइसकेपछि राष्ट्रपतिबाट नीति तथा कार्यक्रम ल्याउने नाटक गरिएको उनको भनाइ छ ।  

सांसद कार्कीले भनिन्, ‘संसद् ढाँट्ने थलो रहेछ । यहाँ आत्मसम्मानलाई धितो राख्ने ठाउँ रहेछ । यो जस्तो निरस ठाउँ त केही पनि छैन । यहाँ बोलिँदो रहेछ, बोलेका कुराहरू सुनिँदो रहेनछ । यहाँ कुर्सीहरू खालि हुँदा रहेछन् । सरकारले जहिले पनि जनतालाई सांसदहरुको मार्फतबाट ढाँट्दो रहेछ । यो बजेट बनिसक्छ । मन्त्रालयगत बजेटको बाँडफाँड भइसक्छ, सम्माननीय राष्ट्रपतिबाट नीति तथा कार्यक्रम आउँछ । नाटक हुन्छ त्यहाँ पनि । हामी संशोधन हाल्छौँ, गम्भीर हुन्छौँ । तर मन्त्रीहरू यहाँ आउनुहुन्छ, भिडियो गेम खेल्नुहुन्छ, खासखुस गर्नुहुन्छ, उठेर हिँड्नुहुन्छ ।’

सांसद कार्कीले सरकार निरंकुश भइरहेको  बताइन् । संविधानको धारा २७० निलम्बित भएको हो ? भन्दै प्रश्न गरे । सामाजिक सञ्जालमा लेखेकै भरमा थुन्नु गणतन्त्र हो ? भन्दै प्रश्न गरिन्। संसदीय व्यवस्थालाई पुनः विचार गर्नुपर्ने समय आएको उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?