काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सरकारले उपसभामुखलाई हटाउन लागेको आरोप लगाएका छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले कांग्रेस–एमाले सम्मिलित सरकारले रास्वपाबाट सभामुख बनेकी इन्दिरा रानामगरलाई हटाउन लागेको भन्दै कटाक्ष गरेका हुन् ।
आफू पहिले कांग्रेस रहेको बताउँदै उनले विभिन्न विषयमा कांग्रेसमाथि प्रश्न गरेका छन् । पछिल्लो समय बढिरहेको महंगी, भ्रष्टाचार, लगायत निराशाको विषयमा कांग्रेस जवाफदेही हुनुपर्ने भन्दै प्रश्न गरे ।
‘बम्पर उपहारका लागि म सम्पूर्ण पूर्व सचिवज्यूहरुलाई आग्रह गर्न चाहन्छु कि १०–१५ करोड रुपैयाँ लिएर रेडि रहनुहोला, तपाईँहरुको नियुक्तिको तयारी हुँदैछ । किनकी कांग्रेसलाई अर्को चुनावलाई पैसा भए पुग्छ जनतामा जानु पर्दैन । त्यसको लागि यहाँको उपसभामुख एउटा जनजाती महिला उसलाई पदको बली दिने कुरा हुँदैछ । ०८४ मा म भन्न चाहन्छु, जनजातीको बिचमा कांग्रेस जानुपर्छ कि पर्दैन ? मधेशीको बिचमा जानु पर्छ कि पर्दैन ? कांग्रेसले मधेशीलाई सचिव बन्न नदिने त्यो तपाईँले देखिसक्नुभएको छ,’ अमरेशले भने ।
त्यस्तै कांग्रेसले जनजाती रहेकै कारण उर्जा राज्यमन्त्री कान्छाराम तामाङ र विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको आरोप लगाए ।
‘खास म कांग्रेससँग प्रश्न गर्न चाहन्छु, किनकी पहिले म कांग्रेस नै थिएँ । कांग्रेसमा विपी कोइरालाले यही दिन देख्नका लागि पार्टी बनाएका हुन् कि छानीछानी जनजातीलाई बलि दिने ? आज खासगरी लोडसेडिङ गर्नका लागि दुई जना तामाङ नेतालाई कांग्रेसले बली दियो । कांग्रेसलाई आरोपित गर्न चाहन्छु र कांग्रेसका जुनसुकै नेताहरुलाई समेत डिबेट गर्न म चुनौती दिन चाहन्छु । चाहे कुलमान घिसिङ होस् कि कान्छाराम तामाङ कांग्रेसले बलि दिएको छ,’ सिंहले भने ।
त्यसो त संवैधानिक परिषद्मा सरकार पक्षको बहुमत नपुग्ने भन्दै यसअघि नै उपसभामुख रानालाई हटाउने चर्चा चलेको थियो ।
तर सरकार पक्षले भने आफूहरुले उपसभामुखलाई हटाउन नलागेको स्पष्टीकरण दिएको थियो । तर संवैधानिक परिषद्मा बहुमत नपुग्दा समस्यामा रहेको सरकारले बेला बेला उपसभामुख हटाउन लागेको चर्चा चल्ने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया