‘सहकारी ठगीमा संलग्नलाई ६ महिनाभित्र बचत रकम फिर्ता गर्ने प्रतिबद्धता गराएर जेलमुक्त गरौँ’

लोकपथ
1.2k
Shares

काठमाडौं । नेकपा (एमाले) का सांसद भिमप्रसाद आचार्यले सहकारी ठगीमा संलग्नलाई ६ महिनाभित्र पीडितको रकम फिर्ता गर्ने लिखित प्रतिबद्धता गराएर जेलमुक्त गर्ने प्रस्ताव राखेका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद आचार्यले यस्तो प्रस्ताव गरेका हुन् । 

उनले ६ महिनाभित्र सबै पीडितको रकम फिर्ता गर्ने कबोल गरेको खण्डमा जेलमुक्त गर्ने र तोकिएको समयभित्र बचत फिर्ता नगरे कडा कारबाही गर्ने कानुनी व्यवस्था गर्नुपर्ने बताए । 

सांसद आचार्यले सहकारीको समस्या अहिले देशको आर्थिक स्थायित्वमा ठुलो चुनौती बनेको उल्लेख गर्दै नीतिगत र कानुनी पुनरावलोकन गर्न आवश्यक रहेको बताए । सहकारी ठगीमा संलग्नहरुलाई थुनेर मात्र सहकारीका समस्या समाधान गर्न नसकिने उनको भनाइ छ । 

उनले भने, ‘सहकारी समस्या अहिले हाम्रो देशमा ठुलो समस्याको रूपमा रहेको छ । सहकारी बचतकर्ताहरू करोडौँ ठगिएर बस्नुपरेको छ । कतिपय मान्छेहरू सहकारी ठगेर, लुटेर कोही भागेका, कोही पक्राउ परेका र कोही तारेखमा छुटेको अवस्था छ । त्यसैले अब जेलमा राखेर मात्रै सहकारीको समस्या पुरा हुन्छ कि हुँदैन ? भनेर अलि पुनरावलोकन गर्नुपर्‍यो भन्ने मेरो आग्रह छ । यदि कोही जेलमा परेको वा विदेश फरार भएको मान्छे छ भने उसले आएर ६ महिनाभित्रमा सबै पीडितको रकम फिर्ता गर्ने कबोल गर्छ भने जेलमा रहेकालाई जेलमुक्त गर्ने र उक्त समयमा तिर्न नसकेको अवस्थामा कडा कारबाही गर्ने निर्णय वा कानुनी व्यवस्था गर्नुपर्‍यो । सहकारीको समस्या हल नगरी हुँदैन । र अहिलेको अवस्थाले हल गर्न सकिन्छ जस्तो पनि मलाई लाग्दैन । त्यसैले यी नीतिगत कुराहरू आउँदो आर्थिक वर्षको बजेटले प्रष्ट गरोस् ।’

सहकारीका समस्या समाधान गर्न अगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले स्पष्ट नीति लिनुपर्ने उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?