काठमाडौं । गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनाको २ महिना पुग्न लाग्दा समेत न्याय नपाएको पीडितहरुले गुनासो गरेका छन् ।
राजावादी प्रदर्शनका क्रममा ज्यूँदै जलाएर मारिएका पत्रकार सुरेश रजकको परिवारले घटनाको निष्पक्ष छानबिनका लागि राष्ट्रिय मानवअधिकार आयोग गुहारेको हो ।
सुरेशको परिवारले आइतबार आयोगमा निवेदन दिँदै निष्पक्ष छानबिनको माग गरेको हो । घटनापछि सरकारले निष्पक्ष छानबिन गर्ने र दोषीलाई कडा भन्दा कडा कारबाही गर्ने भने पनि हालसम्म को दोषी हो भन्ने समेत सरकारले पत्ता लगाउन नसकेको परिवारको आरोप रहेको छ । साथै घटना शंकास्पद हुँदा समेत सरकारले थप चासो नदिएको भन्दै निष्पक्ष छानबिनका लागि आयोगमा निवेदन दिएको सुरेशका दाई दिनेश रजकले लोकपथलाई जानकारी दिए ।
‘सरकारले घटनापछि हामी निष्पक्ष छानबिन गर्छौँ भनेपछि हामी न्यायको पर्खाइमा बस्यौँ । तर घटनाको २ महिना बित्न लाग्दा समेत सरकारले हालसम्म दोषी समेत पत्ता लगाउन सकेको छैन,’ उनले भने, ‘घटना शंकास्पद हुँदा समेत राज्यले दोषी समेत किटान गर्न सकेको छैन त्यही कारण हामी निष्पक्ष छानबिनको मागसहित आयोग गएका हौँ ।’
यता आयोगले भने आफूहरुले छिट्टै निष्पक्ष छानबिन गर्ने बचन दिएको छ । आयोगकी अनुशन्धान महाशाखा प्रमुख मञ्जु खतिवडाले आफूहरूले उक्त घटनाको अनुसन्धान पूरा गरिसकेको बताइन् ।
पीडित परिवारसँग आइतबार कुराकानी गर्दै खतिवडाले आफूहरूले अन्य घटनाभन्दा तीनकुने घटनालाई प्राथमिकता दिएर अनुसन्धान गरेको बताइन् ।
‘तीनकुने घटनालाई निरन्तरको अनुसन्धानभन्दा पनि एकदमै फास्ट ट्र्याकमा लगेर अनुसन्धान गर्छौँ भनेर हामीले भनेका थियौँ । सोहीअनुसार गत शुक्रवार हामीले अनुसन्धान सक्काएर रिपोर्ट दर्ता समेत गरिसकेका छौँ । हामी अहिले प्रिन्टमा व्यस्त छौँ ।’, खतिवडाले पीडित परिवारसँग भनिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया