काठमाडौं । सरकारले गर्ने हरेक निर्णय मनोमानी भएको भन्दै सत्तारुढ दलभित्रैबाट असन्तुष्टिहरु पैदा भइरहेका छन् ।
मुख्य त एमालेले नेतृत्व गरिरहेको दलमा मुख्य साझेदार संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको साथ छ । तर सरकारले उचित काम गर्न नसकेको भन्दै कांग्रेसका सांसदहरुले बाहिरै असन्तुष्टि पोख्न थालेका छन् । संसददेखि सडकसम्म सरकारको विरोध भइरहेको छ ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले सरकारमाथि भरोसा नरहेको भन्दै कटाक्ष गरे । विशेष समय लिएर बोलेका सांसद गौतमले आफू ११ वर्षदेखि संसदमा रहेको तर अहिले जस्तो सरकारसँग नागरिकको भरोसा टुटेको कहिल्यै नरहेको टिप्पणी गरे । साथै सांसदहरुले जनताका सवालहरु उठाउँदै संसदलाई भाइब्रेट बनाउनै नसकेको गुनासो गरे ।
‘संसदमा आएको पनि ११ वर्ष बितिसकेछ । ११ वर्ष कसरी बित्यो थाहा छैन । तर ११ वर्षको अनुभवले के भन्छ भने, अहिले हामी जुन सरकारमा छौँ, सरकार हाम्रो छ । कांग्रेस र एमालेले मिलेर सरकार बनाएको छ तर जुन सरकार सरकार जसरी चलेको अनुभुती गर्न पाइरहेको छैनौँ एउटा सांसदको हैसियतले । संसद जसरी चल्नुपर्ने हो, जसरी भाइब्रेसन उत्पन्न हुनुपर्ने हो, जनताको कुरालाई लिएर जसरी संसद् भाइब्रेट हुनुपर्ने हो त्यो भइरहेको पाउँदिन्,’ उनले भने ।
पछिल्लो समय हरेक संस्थामा चरम दलीयकरणका कारण आम जनतामा आक्रोश छ । सांसद गौतमले राजनीतिक प्रणाली र सरकारसँग मात्र नभएर जनतामा न्यायपालिकाप्रति समेत आशा मर्न थालेको टिप्पणी गरे ।
‘कताकता न्यायपालिकातिर पनि जनताको आशा भरोसा नभएको जस्तो लाग्छ र जनता निराश छन् । जनतामा आशा र भरोसा पैदा गर्न सकिरहेका छैनौँ,’ उनले भने ।
सांसद गौतमले मुलुकको समग्र विकासका लागि शीर्ष नेताहरु एक ठाउँमा आउनुपर्नेमा जोड दिए । मुलुकका विभिन्न तहगत सरकार रहे पनि जनता चरम निराशामा रहेको बताउँदै त्यसबाट जनतालाई बाहिर निकाल्न शीर्ष नेताहरुले राष्ट्रिय सहमति गर्नुपर्नेमा जोड दिए ।
‘एकपल्ट शीर्षस्त नेताहरुले टाउको जोड्नुस् । अब मुलुकले राष्ट्रिय सहमति गर्नुपर्ने आवश्यक्ता म देख्छु । राष्ट्रिय सहमति निर्माण गरेर अघि बढ्न सक्यौँ, संविधानलाई संशोधन गर्न सक्यौँ, जनतामा आशा र भरोसा पैदा गर्न सक्यौँ र मुलुकलाई निश्चित दुरीसम्म सँगै हिँडाउन सक्यौँ भने हामी एक ठाउँमा आउँला होइन भने हामीले गरेको, हामीले ल्याएको गणतन्त्र, हामीले ल्याएको संघीयता, हामीले ल्याएको यी तीन तहको सरकारको औचित्य देखिँदैन ।’
गत असार २९ गते एमालेको नेतृत्वमा सरकार गठन भयो ।
सो समयमा संविधान संशोधनसहित विभिन्न विषयमा सहमति गरिएको थियो । तर सरकार गठनको एक वर्ष पुग्न लाग्दा समेत सहमति अनुसार काम गर्न नसकेको भन्दै कांग्रेसवृत्तबाटै सरकारको आलोचना भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया