काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही(ज्ञानेन्द्र)ले नेपाल विद्युत प्राधिकरणको लापरबाहीको कारण धुलिखेलमा विद्युतको खम्बामा काम गरिरहेका मजदुरको करेन्ट लागेर मृत्यु भएको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद शाहीले करेन्ट लागेर मजदुरको मृत्यु हुनु कुनै दुर्घटना नभई हत्या गरिएको भन्दै आपत्ति जनाएका हुन् ।
नेपाल विद्युत प्राधिकरणमार्फत काभ्रेपलाञ्चोक वितरण केन्द्रद्वारा विस्तारित धुलिखेल नगरपालिका–७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युतको खम्बामा काम गरिरहेका सर्लाहीको ईश्वरपुर नपा– १२ घारीबथाका २८ वर्षीय उपेश परियारको मृत्यु भएको थियो ।
सांसद शाही ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन सरकारको ध्यानाकर्षण समेत गराए । उनले सरकारले फरक विचार राखेकै आधारमा पक्राउ गरिरहेको भन्दै सरकारको विरोध समेत गरे ।
उनले भने, ‘जुन हिसाबबाट त्यो घटना भएको छ त्यो दुर्घटना होइन त्यो हत्याका रूपमा दर्ज होस् । र ज्यान मार्ने उद्योगमा चाहिँ मुद्दा चलोस् । किनभने यसरी मान्छे मार्ने त्यो राज्य हुन सक्दैन । साथै म सरकारलाई भन्न चाहन्छु, नेपालको संविधानको धारा २७० पटक पटक पढ्नुहोला । त्यो धारा कसैको निगाहामा लेखिएको होइन । राप्रपाका ४० जना सांसदहरूको बहुमतका साथ यो धारा लेखिएको हो । त्यो धाराले के भन्छ ? फरक विचार राख्ने वित्तिकै मान्छेलाई जेल हाल्ने ? के नेपालका प्रधानमन्त्री, गृहमन्त्री र सरकार नेपालको संविधानभन्दा ठुलो हो ?’
उनले फरक विचार राख्न पाउने संवैधानिक अधिकार भए पनि सरकारले धरकपड गरिरहेको भन्दै सरकार संविधानभन्दा ठुलो हुन खोजेको आरोप समेत लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया