काठमाडौं । पछिल्ला दिनमा कोशी प्रदेशको सिमानाकाबाट व्यापकरुपमा तस्करी बढेपछि गृहमन्त्री रमेश लेखकले सार्वजनिक कार्यक्रमबाटै असन्तुष्टि पोखे । कञ्चनपुर घर भएका गृहमन्त्री लेखकले गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू तथा कोशी प्रदेशका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरूको सहभागिता रहेको सुरक्षा गोष्ठीमै असन्तुष्टि मात्रै पोखेनन्, सम्बन्धित सुरक्षा निकायलाई परिणाम देखिने गरी काम गर्न कडा निर्देशनसमेत दिए । उनले तस्करी नियन्त्रणमा ३० दिनभित्र ‘अनुभूति हुनेगरी’ काम गर्न निर्देशन दिएका थिए ।
गृहमन्त्री लेखकको भनाइ थियो, ‘तस्करीले अपराध बढाएको छ, राजस्व घटाएको छ, मुलुकमा नकारात्मक असर गरेको छ, तस्करी तुरुन्त रोक्नुपर्छ, होइन भने गृह मन्त्रालयले अर्को एक्सन लिन्छ ।’
सिमानाकाबाट हुने तस्करी नियन्त्रणको पहिलो जिम्मेवारी सशस्त्र प्रहरीको हो । तर कोशी प्रदेशमा कार्यरत सशस्त्रकै जिम्मेवार अधिकृतले तस्करसँग मिलेर कमाउधन्दालाई तीव्रता दिएपछि संगठन सुधारमा निष्कलंक छवि बनाएका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पनि त्यसको अपजस बेहोर्नु परिरहेको छ । फलतः सशस्त्र मुख्यालयले मोरङस्थित प्रस्तावित सीमा गुल्म रानीका डीएसपी ऋषिकेश राउतलाई नम्बर १ बराह बाहिनी पकली, सुनसरीमा फिर्ता बोलाएर नयाँ गुल्मपतिका रूपमा अमरबहादुर खत्रीलाई पठाएको छ । गुल्मपति राउतको अवैध धन्दा र तस्करसँगको साँठगाँठको विषयमा लोकपथ डटकमले समाचार प्रसारण गरेको भोलिपल्टै शुक्रबार उनलाई नम्बर १ बराह बाहिनीमा फिर्ता बोलाइएको थियो । डीएसपी राउत प्रस्तावित सीमा गुल्म रानीमा गएको पाँच महिना मात्रै भएको थियो । राउत शक्तिकेन्द्रको आडमा कमाउधन्दाकै लागि प्रधान कार्यालयबाट त्यहाँ गएको बताइएको छ । उनको तस्करी धन्दाबारे पटक पटक मुख्यालयमा उजुरीसमेत परेको थियो । एउटा कमान्ड क्षमता नभएको र तस्करी धन्दामा लिप्त डीएसपीका कारण संगठनको साख गिरेको स्रोतको भनाइ छ ।
के डीएसपी राउतकै कारण मात्र कोशी प्रदेशको सिमानाकाबाट व्यापकरुपमा तस्करी बढेको हो त ? उनलाई मात्रै लिएर गृहमन्त्री लेखकले सार्वजनिक कार्यक्रमबाटै असन्तुष्टि पोखेका हुन् त ? स्रोत भन्छ ः ‘पक्कै होइन ।’
लोकपथलाई प्राप्त सूचनाअनुसार, कोशी प्रदेशमा लामो समयदेखि सिमानाकाबाट व्यापक तस्करी भइरहेको छ सुरक्षा निकाय र राजनीतिक दलकै आडमा । तस्करीबाट फाइदा लिनकै लागि पछिल्ला दिनमा कोशी प्रदेशमा त्यहीँकै स्थानीय सुरक्षा अधिकारीहरूलाई सुरक्षा कमान्डको जिम्मेवारी दिइएको छ । यसले तस्करी नियन्त्रणको त कुरै छाडौँ, स्थानीय भएका नाताले उनीहरू खुलेरै तस्करी नियन्त्रण गर्न सक्दैनन्, उल्टै तस्करसँग मिलेर आफ्नो स्वार्थ पूर्ति गर्न लाग्छन् ।
अब कुरा गरौँ, कोशी प्रदेशअन्तर्गतको भारतसँग जोडिएको मुख्य सीमानाका भनेको झापाको काँकडभिट्टा, मोरङको रानी र सुनसरीको कप्तानगञ्ज र भ्यान्टाबारी हो । यी सीमानाकाहरुमा कडाइ गर्ने जिम्मेवारी सशस्त्र प्रहरीको नम्बर १ बराह बाहिनीको हो ।
बाहिनीदेखि यी तीन जिल्लाका गणहरूमा पठाइएका कमान्डरको व्यक्तिगत पृष्ठभूमि हेर्दा के उनीहरू तस्करी नियन्त्रण गर्न कम्मर कसेर लाग्छन् त ? गम्भीर प्रश्न यही हो ।
अहिले नम्बर १ बराह बाहिनी सुनसरीको बाहिनीपति कुमार न्यौपाने (डीआईजी), झापाको गणपति तुला भण्डारी, सुनसरीको गणपति निर्मल थापा सबै जना झापाकै हुन् । नम्बर १ बराह बाहिनीका सहायक बाहिनीपति एसएसपी सुधिरजंग थापा, झापास्थित शिक्षालयका समादेशक एसएसपी राजेश उप्रेती र शिक्षालयको एसपी विश्व खड्का पनि झापाकै हुन् । बाहिनीको अप्रेसन हेर्ने एसपी विक्रम हुमागार्ई मोरङका हुन् । मोरङको गणपति राजेश घिमिरे मोरङकै हुन् । यस्तै इलामका गणपति लोकेन्द्र सुवेदी पनि झापाकै हुन् ।
सामान्यतः सुरक्षा संगठनमा स्थानीयलाई कमान्डको जिम्मा दिइँदैन । उनीहरूलाई कमान्डको जिम्मा दिँदा स्वार्थ बाझिएको बुझिन्छ । तर कोशी प्रदेशको हकमा प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेको गृहजिल्ला झापाका स्थानीयवासीलाई कमान्डको जिम्मा दिनुमा उनीहरूकै हस्तक्षेपले काम गरेको बुझ्न सकिन्छ । पछिल्ला दिनमा कोशीका यी प्रमुख नाकाबाट राजस्व पनि निकै कम उठ्ने गरेको बुझिएको छ । सम्भवतः गृहमन्त्री लेखकको पनि आक्रोश यसैमा हो ।
जानकारहरूका अनुसार, सिन्धुली घर भएका अञ्जनी पोखरेल नम्बर १ बराह बाहिनीको बाहिनीपति भएर जाँदा त्यहाँ तस्करहरूको भागाभाग भएको थियो । उनले डटेर तस्करी नियन्त्रण गरेका थिए । तस्करी नियन्त्रणमा उनले उल्लेख्य भूमिका निर्वाह गरेका थिए । तर जब झापा घर भएका शम्भु सुवेदी सो बाहिनीको बाहिनीपति भएर गए, स्थानीय भएका नाताले उनले तस्करको सामना गर्न सकेनन् । तस्करी व्यापकरुपमा खुलाए । अहिले गएका बाहिनीपति न्यौपाने पनि झापाकै हुन् । आगामी माघ मसान्तमा अवकाशमा जान लागेका उनी अवकाशपछिको सुखद जीवनका लागि आर्थिक जोहो गर्नकै लागि त्यहाँ गएको चर्चा छ । झापाकै वंशीराज दाहालले पनि सो बाहिनीको नेतृत्व गर्दा तस्करसँग मिलेर करोडौँ आर्जन गरेको यसअघि चर्चा चलेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया