जागरण अभियानका लागि कर्णाली पस्यो माओवादी

लोकपथ
140
Shares

दैलेख । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सञ्चालित मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादी केन्द्रको जनअभियान कर्णाली प्रदेशमा प्रवेश गरेको छ ।

प्रवेशसँगै पहिलो कार्यक्रमका रूपमा सुर्खेतको राकम कर्णालीमा जनसंवाद सम्पन्न भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

सुदूरपश्चिमको बैतडी पाटनबाट सुरु गरिएको अभियान अछाम हुँदै दैलेखको कर्णाली पुल पार गरी राकम कर्णालीमा प्रवेश गरेको हो ।
अभियान अन्तर्गत आज दिउँसो १ बजे दैलेख सदरमुकाममा भव्य जनसभा आयोजना हुने कार्यक्रम रहेको छ।

राकममा सम्पन्न जनसंवाद कार्यक्रममा अध्यक्ष प्रचण्डले जनतासँगको सम्बन्ध सुदृढ गर्न, सुशासन प्रवर्द्धन गर्न र भ्रष्टाचारविरुद्ध आवश्यकता परे नयाँ आन्दोलनको वातावरण बनाउन पनि यो अभियान गरिएको बताए ।

उनले भने– ‘मध्यपहाडी क्षेत्रमा विकासबाट पछाडि परेका जनतालाई समेटेर समृद्धिको बाटो खोल्ने उद्देश्यले माओवादी केन्द्रले यो अभियान अघि सारेको हो । मध्यपहाडी लोकमार्ग केवल सडक सञ्जाल होइन, यो अभियान सामाजिक रूपान्तरणको अभियान सँग जोडिएको छ ।’

सरकारमा हुँदा माओवादी केन्द्रले सामाजिक न्याय र सुशासनका लागि भ्रष्टाचारविरुद्ध दृढताका साथ संघर्ष गरेको र अहिलेको अभियान त्यसै राजनीतिक संघर्षको निरन्तरता भएको उनले बताए ।

यो अभियान जनताको प्रत्यक्ष सहभागिता र भावनालाई आधार मानेर अघि बढाइएको उनले बताए । गरिब, किसान, मजदुर, उत्पीडित समुदाय, शहीद परिवार, बेपत्ता व्यक्तिका आफन्त, जनयुद्धका घाइते तथा अपांग नागरिकहरूसँग भेटघाट गर्दै अभियान अगाडि बढाइएको प्रचण्डले बताए ।

माओवादी केन्द्रले गत फागुनमा नेपालकै होचो स्थानमा मानिने झापाको केचवकवलबाट आफ्नो अभियान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?