काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व उपप्रधानमन्त्री समेत रहेका मातृभुमी जागरण अभियानका संयोजक डा. भीमबहादुर रावललाई सहकार्य गर्न आग्रह गरेका छन् ।
शनिबार जनतासँग माओवादी अभियान अन्तर्गत मध्यपहाडी लोकमार्ग पुष्पलाल राजमार्ग केन्द्रित जागरण अभियानका लागि अछाम पुगेका प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्दै सहकार्यको प्रस्ताव गरेका हुन् । अछाम रावलको गृह जिल्ला समेत हो ।
त्यसो त आफूले अछामको साँफेबगर पुगेर रावलसँग फोन संवाद गरेको समेत बताए ।
‘म यहाँ आउँदै गर्दा बाटोमै भीम रावलको सम्पर्क कार्यालय देखेँ, मैले हिजोमात्र फोनमा कुरा गरेको थिएँ । उहाँले कार्यक्रम सफलताको शुभकामना पनि भन्नुभएको थियो । मैले तपाईं हामी बसेर कुरा गर्नुपर्ने ठाउँमा तपाईं कोकोसँग कुरा गरिराख्नुभएको छ भनेको छु,’ प्रचण्डले भने ।
त्यस्तै उनले भीम रावल इमान्दार कम्युनिष्ट भएको बताउँदै सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए । साथै अन्य दल र अभियानका नाममा अयन्त्र नभौतारिन समेत आग्रह गरे ।
‘मैले यहाँबाट पनि भीम रावलसहित देशभक्त इमानदार कम्युनिष्टहरुलाई सहकार्य गर्न अपिल गर्न चाहन्छु, अन्त भौतारिरहनु जरुरी छैन । केही फाइदा हुनेवाला छैन । भीमजीप्रति मैले संवादसहित यो अपिल गर्न चाहन्छु,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया