कांग्रेस संसदीय दल बैठक : समान ढंगले बजेट विनियोजन गर्नुपर्नेमा जोड

लोकपथ
140
Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले आगामी आर्थिक वर्षको बजेटबारे छलफल गरेको छ । सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ । शनिबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा सांसदहरुले आफ्ना धारणा राखेको पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए ।  

प्रमुख सचेतक घिमिरेकाअनुसार सांसदहरुले बजेट लगायत विविध विषयमा खुलेर छलफल गरेका थिए ।  बजेट कसरी वितरण हुन्छ भन्नेबारेमा सांसदहरुले प्रश्न गरेका थिए । साथै समान ढंगले र क्षेत्रगत रूपमा सन्तुलित विकास गर्ने गरी बजेट विनियोजन हुनुपर्ने कांग्रेस सांसदहरूको भनाइ छ ।  

उनले भने, ‘आज बजेट लगायतका विविध विषयहरूमा छलफल गर्नको लागि यो बैठकको आयोजना गरिएको हो । सांसदहरुले बजेट लगायत विविध विषयमा खुलेर छलफल गर्नुभयो । सक्रियतापूर्वक सहभागिता जनाउनु भयो । डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्य लाभको कामना गरेका छौँ । दुई वटा शोक प्रस्तावहरू । नगिना यादवको पितको स्वर्गारोहण भएको र ओखलढुंगाका पूर्व पार्टी सभापति एवं जिल्ला विकासका पूर्वसभापति महेश कर्माचाको निधनमा शोक प्रस्ताव पारित गरेका छौँ । गभर्नरको विषयमा पनि कुरा उठ्यो । बजेट कसरी वितरण हुन्छ, बजेट वितरणमा समान ढंगले गर्नुपर्छ, क्षेत्रगत रूपमा सन्तुलित विकास हुनुपर्छ भन्ने कुरा पनि भयो ।’

संसदीय दलको बैठकमा ठुलो दलको हिसाबले सरकारमा सम्मानजनक उपस्थिति नपुगेको र अझ बढी लिनुपर्ने कुरामा सांसदहरुले आवाज उठाएको बताए  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?