काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका निलम्बित सांसदद्वय माया राई र मोहनबहादुर बस्नेतको विषयलाई ठुलो अर्थमा नलिन आग्रह गरेका छन् ।
शनिबार बानेश्वरमा बसेको संसदीय दलको बैठकले निलम्बित सांसदद्वय राई र बस्नेत पक्राउ परेको घटनालाई ठुलो अर्थमा नलिन आग्रह गरेका हुन् ।
बैठकमा सभापति देउवाले राखेका धारणा उद्धृत गर्दै पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले घिमिरे र बस्नेत पक्राउ परेकोबारेमा सांसदहरुले आवाज उठाएको प्रश्नको सभापति देउवाले जवाफ दिएको बताए ।
उनकाअनुसार सभापति देउवाले राजनीतिमा यस्तै हुने र आफूहरू पनि जेल बसेर आएको पार्टीका सांसदहरूलाई स्मरण गराएको बताए । बैठकपछि संसदीय दलको बैठकका निर्णय सुनाउने क्रममा प्रमुख सचेतक घिमिरेसँग सञ्चारकर्मीहरूले कांग्रेसका निलम्बित सांसदद्वय माया राई र मोहन बस्नेतको बारेमा प्रश्न गरेका थिए ।
उनले भने, ‘उहाँहरूको कुरा पनि उठ्यो, उहाँहरूको विषयमा पनि सांसदहरुले कुरा उठाउनु भयो । त्यो विषयमा सभापतिज्यूले जवाफ दिनुभयो । राजनीतिमा यस्तै हुन्छ, हामी पनि जेल बसेर आएका हौँ, थुनामा बसेर आएका हौँ भन्ने कुरा राख्नुभयो । यो विषयलाई ठुलो अर्थमा लिनु हुँदैन, राजनीतिमा हामी पनि बसेका हौँ भन्नुभयो ।’
उनले माओवादी केन्द्रसँग गठबन्धन गरेर जाने बारेमा कुनै एजेण्डा नरहेको स्पष्ट पारे । कांग्रेसले सरकार परिवर्तनको बारेमा कुनै सोच नराखेको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया