काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल तरुण दलको लमजुङ जिल्लाको अधिवेशनका क्रममा खुकुरी हानाहान भएको छ ।
तरुण दलको दुई पक्षबिच झडप हुँदा २ जना घाइते भएको तरुण दलका एक नेताले जानकारी दिए ।
ती नेताका अनुसार आज लमजुङको जिल्ला अधिवेशनका लागि केन्द्रीय अध्यक्ष विद्धान गुरुङ, पूर्व अध्यक्ष जितजंग बस्नेत समेत पुगेका थिए । दिउँसो जिल्ला सदरमुकाममा अधिवेशन चलिरहेका बेला बाहिरबाट एक समूह प्रवेश गरी हातपात गर्न सुरु गरेको थियो । दुई पक्षबिच केहीबेर घम्साघम्सी हुँदा २ जना घाइते भएको र उनीहरुको उपचारका लागि अस्पताल लगिएको छ ।
सदस्यता विवादका कारण दुई पक्षबिच लफडा भएको ती नेता बताउँछन् ।
लमजुङमा जिल्ला अधिवेशनलाई लिएर केही समयदेखि विवाद भइरहेको थियो । संस्थापन र इतर पक्षबिच विवाद हुँदा आजको घटना घट्न पुगेको ती नेता बताउँछन् ।
कांग्रेसको तरुण दलसहित अन्य धेरै भ्रातृ संगठनको म्याद सकिसकेको छ । महाधिवेशनका लागि तोकिएका वर्तमान अध्यक्ष गुरुङ आफैँ चिठ्ठिी बाँड्दै हिँड्नेदेखि विभिन्न जिल्ला अधिवेशन गराउँदै हिँड्न थालेको भन्दै असन्तुष्टि बढिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया