विराटनगर । समग्ररुपमा कोशी प्रदेशकै सीमा नाकाबाट अवैध चोरी पैठारी नियन्त्रण गर्न सुरक्षा संयन्त्र कमजोर बनिरहेका बेला सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा गुल्म रानीका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) ऋषिकेश राउतलाई फिर्ता बोलाएर नयाँ गुल्मपति पठाइएको छ । राउतलाई सोधपुछका लागि नम्बर १ बराह बाहिनी पकली, सुनसरीमा बोलाइएको चर्चा चलेपनि उनको ठाउँमा नयाँ गुल्मपतिका रूपमा अमरबहादुर खत्रीलाई पठाइएसँगै राउत नै फर्कने बाटो अन्त्य भएको छ ।
गुल्मपति राउतको अवैध धन्दा र तस्करसँगको साँठगाँठको विषयमा लोकपथ डटकमले समाचार प्रसारण गरेको भोलिपल्टै शुक्रबार उनलाई नम्बर १ बराह बाहिनीमा फिर्ता बोलाइएको थियो । डीएसपी राउत प्रस्तावित सीमा गुल्म रानीमा गएको पाँच महिना मात्रै भएको थियो ।
राउत शक्तिकेन्द्रको आडमा कमाउधन्दाकै लागि प्रधान कार्यालयबाट त्यहाँ गएको बताइएको छ । उनको तस्करी धन्दाबारे पटक पटक मुख्यालयमा उजुरीसमेत परेको थियो । एउटा कमान्ड क्षमता नभएको र तस्करी धन्दामा लिप्त डीएसपीका कारण संगठनको साख गिरेको स्रोतको भनाइ छ ।
सशस्त्र प्रहरी बल नम्बर ३ गण मोरङका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राजेश घिमिरेले रानी तथा आसपासको क्षेत्रबाट भइरहेको अवैध तस्करी नियन्त्रणमा रानी गुल्मका गुल्मपति राउतको भूमिका अपेक्षाकृत सकारात्मक नपाइएको र त्यस सन्दर्भमा आएको विभिन्न विषयमाथि सूक्ष्म अनुसन्धान र छानबिन गर्ने क्रममा उनलाई फिर्ता गरिएको बताए ।
सीमा सुरक्षा तथा राजस्व चुहावट नियन्त्रणका लागि परिचालित सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको स्थानीय युनिटसमेतको सेटिङमा कोशी प्रदेशका विभिन्न सीमा नाकामा व्यापक रूपमा तस्करी भइरहेकोप्रति गृहमन्त्री रमेश लेखकले पनि सुरक्षा गोष्ठीमै आक्रोश पोखेका थिए । गृहमन्त्री लेखकले पछिल्ला दिनमा कोशी प्रदेशको सीमानाकाबाट व्यापकरुपमा तस्करी बढेपछि गृह मन्त्रालयले आफै ‘एक्सन’ मा उत्रने तयारी गरेको बताएका थिए ।
विराटनगरमा भएको कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन सत्रमा गृहमन्त्री लेखकले तस्करी नियन्त्रणमा ३० दिनभित्र ‘अनुभूति हुनेगरी’ काम गर्न निर्देशन नै दिएका थिए । गृहमन्त्री लेखकको भनाइ थियो, ‘तस्करीले अपराध बढाएको छ, राजस्व घटाएको छ, मुलुकमा नकारात्मक असर गरेको छ, तस्करी तुरुन्त रोक्नुपर्छ, होइन भने गृह मन्त्रालयले अर्को एक्सन लिन्छ ।’
गृहमन्त्री लेखकको यो चेतावनीसँगै सीमा नाकाबाट हुने अवैध गतिविधि पूर्णरूपमा निस्तेज गर्ने क्रममा केही बोर्डर आउट पोस्ट (बीओपी) कमान्डरसमेत केही दिनभित्र परिवर्तन गर्ने तयारी रहेको स्रोतको भनाइ छ ।
गृहमन्त्रीको चेतावनीसँगै बिहीबार रातिबाटै सीमा नाकाबाट हुने अवैध तस्करी नियन्त्रण गर्ने क्रममा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले रानी तथा आसपासको क्षेत्रबाट पूर्ण कडाइ गरिएको छ । यस क्रममा घरेलु प्रयोजनका लागि ठूलो परिमाणमा दैनिक उपभोग्य सामग्री ल्याउन समेत रोक लगाइएको छ ।
यता, सशस्त्र प्रहरीका तर्फबाट कोशी प्रदेशको शान्ति सुरक्षा र तस्करी नियन्त्रणको जिम्मेवारी बाहिनीपति कुमार न्यौपानेको हो । डीआईजी न्यौपानेले बाहिनीपतिको जिम्मेवारी ग्रहण गरेको दुई साता मात्रै बितेको छ । तर उनी स्वयं उपस्थित सुरक्षा गोष्ठीमा गृहमन्त्री लेखकबाट कोशी प्रदेशमा भएका काम कारबाहीमाथि प्रश्न उठ्नु उनका लागि पनि लज्जाको विषय हो । आगामी माघ मसान्तमै अवकाशमा जान लागेका न्यौपाने अवकाशपछिको सुखद जीवनका लागि १ नम्बर बाहिनी गएको र उनको कार्यकालमा कोशी प्रदेशमा तस्करी थप बढ्ने भन्ने जमात पनि ठूलै छ ।
उनीभन्दा अघिका बाहिनीपति शम्भु सुवेदीमाथि आफ्नो कार्यकालमा तस्करीका नाका खुलाएको गम्भीर आरोप छ । गम्भीर रोगसँग जुधिरहेका डीआईजी सुवेदीले महिनाकै डेढ लाख रुपैयाँ औषधिमा खर्च गर्नुपर्छ । सुवेदीभन्दा अघिका बाहिनीपति अञ्जनी पोखरेलले भने सीमानाकामा कडाइ गरेका थिए । उनको कार्यकालमा कोशी प्रदेशबाट राजस्व पनि धेरै नै उठेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया