काठमाडौं । नेपाली कांग्रेस महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माको संयोजन र निमन्त्रणा आज ‘सगरमाथा बेसक्याम्पमा जलवायु परिवर्तन, हिमाली जीवन र सरकारसँगको अपेक्षा’ विषयमा विशेष संवाद सम्पन्न भएको छ ।
महामन्त्री शर्माको निमन्त्रणामा गृहमन्त्री रमेश लेखक र पर्यटन मन्त्री बद्री पाण्डे सगरमाथामा आधार शिविर पुगेको शर्माको सचिवालयले जनाएको छ ।
संवाद ३१ पटक सगरमाथा आरोहण गरेका कीर्तिमानी आरोही कामिरिता शेर्पालाई सम्मान गरेर सुरु गरिएको थियो । विशेष संवादमा सरकारले तत्कालीन र दीर्घकालीन रूपमा गर्नुपर्ने १६ बुँदे कार्यबारे स्थानीयका तर्फबाट आरोही बाबु शेर्पाले वाचन गरेका थिए ।
लुक्ला देखि पाँच दिन लगातार पदयात्रा गरेर सगरमाथा आधार शिविर पुगेका महामन्त्री शर्मा यो साता आरोहण प्रशिक्षण र हिमाली क्षेत्रका नागरिक एवं हिमाल आरोहण क्षेत्रले भोग्नुपरेका समस्या पहिचान गरेर फिल्डबाटै सम्बन्धित मन्त्रीहरूको ध्यानाकर्षण गराउन व्यस्त छन् ।
सोह्र बुँदा ग्रहण गर्दै गृहमन्त्री लेखकले अहिलेको सरकार जलवायु परिवर्तन र हिमाली जीवनको मुद्दामा गम्भीर ढङ्गले कार्य गर्न समर्पित रहेको बताए । त्यस्तै पर्यटन मन्त्री पाण्डेले पर्यटन क्षेत्रको समग्र विकास गर्न दिइएका १६ बुँदाको कार्यान्वयनमा आफू विशेष सक्रियता साथ लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
महामन्त्री शर्माले आधार शिविरमा सञ्चार टावर, भरियाको बिमा, सुरक्षा युनिटजस्ता विषयमा सरकारले अविलम्ब ध्यान दिनुपर्नेमा जोड दिँदै कार्बन उत्सर्जन बढी गर्ने ठुला राष्ट्रहरूमाथि दबाब बढाउन साना राष्ट्रहरूको नेतृत्व नेपालले गर्नुपर्ने बताए ।
कार्यक्रममा कीर्तिमानी आरोही कामिरिता शेर्पा, डा आशीष पौडेल, मिङ्मा छिरिङ शेर्पा, दावा शेर्पा, पासाङ भोटेलगायतले सगरमाथा क्षेत्रले भोग्दै आएको संकट समाधान गर्न सरकारले विशेष योजना बनाउनुपर्नेमा ध्यानाकर्षण गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया