सर्लाहीमा हुरीबाट ६ जना घाइते

लोकपथ
525
Shares

सर्लाही । शुक्रबार साँझ आएको हुरीका कारण जिल्लाका विभिन्न स्थानमा छ जना घाइते भएका छन् । हुरीका कारण घर तथा सवारी साधनमा क्षति पुगेको छ । 

शुक्रबार साँझ सर्लाहीसहित तराईका विभिन्न जिल्लामा हुरी आएको थियो । हुरीका कारण कच्ची घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।  

उनका अनुसार हुरीका कारण बकाइनोको रूख भाँच्चिदा बागमती नगरपालिका–२ धरहराका अन्दाजी ३८ वर्षका नवराजराय क्षेत्री घाइते भएका छन् । 

उनको ढाडमा चोट लोको छ । घाइते क्षेत्रीलाई नमुना अस्पताल हरिवनमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर पठाइएको छ । बारीमा काम गरिरहँदा एक्कासि आएको हुरीले बकाइनोको रूख भाँचिएको थियो । 

हुरीले उडाउँदा हरिपुर्वा नगरपालिका–६ निवासी ५० वर्षकी सुमीदेवी घरको छतबाट लडेर घाइते भएकी छन् । उनको हात, मुख र आँखामा चोट लागेको प्रहरीले जनाएको छ । उनको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको परिवारले जनाएको छ । 

हुरीका कारण रुखको हाँगा भाँचिएर लाग्दा यहाँको हरिवन नगरपालिका–५ घुर्कोली निवासी १८ वर्षका बलिराम महतो र ५२ वर्षका गङ्गाराम महतो पनि घाइते भएका छन् । उनहरूलाई हरिपुर नगरपालिका–२ सानो जगतपुरस्थित भित्री सडक खण्डमा मोटरसाइकल चलाइरहेको अवस्थामा रुखको हाँगा झरेर लागेका इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

हुरीको उडाएको जस्ता पाताले लागेर हरिवन नगरपालिका–५, घुर्कौली निवासी ७५ वर्षकी दलेमुन खातुन घाइते भएको प्रहरीले जनाएको छ । हुरीको समयमा आफ्नै घरमा रहेको किराना पसलमा बसिरहेको उनलाई कठघराको जस्ता उडेर लागेको थियो । उनको दायाँ आँखामा चोट लागेको छ । घाइते खातुनको नमुना अस्पताल हरिवनमा उपचार भइरहेको प्रहरीले जनाएको हो । 

हुरीले सर्लाहीको गोडैता नगरपालिका–१२  मधुवनी गाउँको चोकमा रहेको होटेलमा क्षति पुग्दा  ६० हजार मूल्य बराबरको क्षति भएको छ । जिल्ला प्रहरीका प्रवक्ता राईका अनुसार सोही स्थान निवासी मुन्ना सिंहको जग्गामा सञ्जीव पासवानले काठ र फुसको घर बनाउनु भएको थियो । उक्त घरमा रामनगर गाउँपालिका–७, निवासी उमेश साहले भाडामा होटेल सञ्चालन गरिरहेको थियो । 

हुरीले रूख लडेर च्यापिँदा हरिवन नगरपालिका–११ स्थित इलाका प्रहरी कार्यालय हरिवनको पार्किङमा रहेका तीन वटा मोटरसाइकलका क्षति पुगेको छ । रुख ढल्दा इलाका प्रहरी कार्यालयका नाममा रहेको बा एएसी ३४०९ नम्बरको मोटरसाइकल र अनुसन्धानका लागि कार्यालय परिसरमा राखिएको नम्बर नखुलेको थप दुई वटा मोटरसाइकलमा क्षति पुगेको हो । 

पूर्व–पश्चिम राजमार्गस्थित ईश्वरपुर नगरपालिका–१२ मा हुरीका कारण रूख ढल्दा सवारी दुर्घटनामा परेको छ । हावाहुरीले सडकमा ढलाएको रूख छलाउन खोज्दा बाँकेबाट लालबन्दीतर्फ आउँदै गरेको मधेस प्रदेश–०४–००१ च ०२७७ नम्बरको पिक अप गाडी सडक छेउमा पल्टिएको हो । 

दुर्घटनामा पिक अप चालक पर्सा गाउँपालिका–४ का ३५ वर्षका राजनारायण महतो घाइते भएको प्रहरीले जनाएको हो । उनको हातको औँलामा चोट लागेको छ । घाइते महतोलाई उपचारका लागि लालबन्दीस्थित स्वास्थ्य संस्थामा राखिएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?