काठमाडौं । नेपालमा गर्मीयाम सुरु भएको छ । गर्मी सुरु भएसँगै विभिन्न प्रकारका जोखिम समेत देखिन थालेका छन् । विशेषगरी तराईका जिल्लाहरुमा अत्यधिक चर्को गर्मीका कारण जनजीवन कष्टकर बन्दै गइरहेको छ । साथै कतिपय स्थानमा तातो हावा समेत चल्न थाल्दा बिरामीहरु बढिरहेका छन् ।
के हो तातो हावा यानेकी ‘लू’ ?
गर्मी याममा चर्को घाम लागेपछि तापक्रम बढेर धेरै गर्मी भएको अवस्थालाई हामी तातो दिन भनिन्छ । विशेषगरी तराईका जिल्लाहरुमा यदी लगातार दुई दिन भन्दा बढी ४० डिग्री वा त्यो भन्दा बढी तापक्रम भयो भने तातो दिन भएको वा तातो हावा चलेको अर्थात् ‘लू’ को घोषणा गरिने वरिष्ठ मौसमविद् मिनकुमार अर्याल बताउँछन् ।
अहिले गर्मीको समय छ, पानी परिहाल्यो भने तापक्रम केही घट्न सक्छ । तर पानी परेन भने तापक्रम बढ्दै जान्छ । चर्को घाम लाग्ने र तापक्रम बढेर ४० डिग्री पुगेपछि हावा पनि तातो नै चल्न थाल्छ । यसले गर्दा गर्मी धेरै नै हुने गर्दछ । तातो हावाको लहरले मान्छेको स्वास्थ्यमा निकै असर गर्दछ । टाउको दुख्ने, मुटुको गति तिव्र हुने, श्वासप्रश्वास र रक्तचाप कम हुने, शरीरको तापक्रम बढ्ने, छाला सुख्खा र रातो हुने, रिंगाटा लाग्ने र अचेत हुने जस्ता असर देखिन सक्छ । यसबाट कहिलेकाही ज्यानै पनि जान सक्ने भन्दै सावधानी अपनाउनुपर्ने मौसमविद् अर्याल सुझाव दिन्छन् ।
तातो हावा ‘लू’ बाट कसरी बच्ने ?
दिउँसो चर्को घाम लागेका बेला घरबाट बाहिर ननिस्कने
निस्कनै परेमा छाता ओड्ने वा पातलो कपडाले टाउको छोप्ने
खेतबारीको काम सकेसम्म बिहान र बेलुकीको समयमा मात्रै गर्ने
प्रशस्त पानी र फलफूलको रस पिउनुपर्छ
धेरै पसिना आएमा जीवनजल पानी पिउनुपर्छ
चिसो पानीले नुहाउने
चिनिको मात्रा धेरै भएको झोल पदार्थ, कोल ड्रिङ्स, चिया, कफी र सोडा जस्ता पेय पदार्थहरु नपिउने
गर्मीले छटपटी भएमा निधार, अनुहार, घाँटी, हातगोडामा पानीपट्टी लगाउने
यदी स्वास्थ्यमा समस्या आएमा स्वास्थ्य संस्थामा जानुपर्छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया