काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले केही दिनदेखि काठमाडौं उपत्यकामा भइरहेको लोडसेडिङबारे प्रष्ट पारेका छन् ।
काठमाडौं उपत्यका मात्र नभएर बिहीबार देशभरी नै साँझको समयमा बिजुली गएको थियो । निरन्तर साँझमा बत्ति गएको भन्दै कार्यकारी निर्देशक शाक्यमाथि प्रश्न उठेपछि उनले पत्रकार सम्मेलन गरेर त्यसबारे खण्डन गरेका हुन् ।
आज पत्रकार सम्मेलन गर्दै शाक्यले अहिले हुने विद्युत लोड क्षमता धान्न नसक्ने अवस्था रहेको समेत बताए । साथै काठमाडौंको बालाजु र स्यूचाटार क्षेत्रमा विद्युतको लोड बढी हुने र त्यसले गर्दा लोडसेडिङ हुने समेत उनले बताए ।
अहिले हुने विद्युत् लोड क्षमता धान्न नसक्ने अवस्थामा छ । बालाजु र स्युचाटारको लोडले गर्दा चाँडै ओभर लोड हुने अवस्था छ । विद्युत् प्रणालीमा धेरै ठाउँमा समस्या रहेको पाए । म आफै एलडीसीमा बसेर हेरेको थिए । प्रणाली कमजोर भएकाले उत्पादन भएर आएको विद्युतले काठमाडौँमा जाँच गर्न खोज्दा बेलाबेलामा ट्रिप भएको हो । त्यही भएर हिजो धेरै पटक बिजुली झ्याप झ्याप भएको महसुस गर्नु भएको हो,’ शाक्यले अघि भने, ‘हाम्रो आन्तरिक उत्पादन कम छ। १४ सय मेगावाट विद्युत् उत्पादन भइरहेको छ । पिकिङ समयमा करिब २ हजार मेगावाट माग छ । विद्युत् प्रसारण लाइनमा पिकिङ समयमा विद्युत् ट्रिप भएकाले प्रसारण लाइनको विद्युत् भारवहन गर्ने क्षमता सिमाना पुगेको छ ।’
शाक्यले बताए अनुसार ढल्केबर–मुजफ्फरपुर लाईन जाँच गर्न दुई वटा नै लाइन ट्रिप भएकाले उक्त लाइनमा डिले हुँदा नेपालको प्रणालीबाट सञ्चालन गर्ने कोसिस गर्दा पिकको समय र आन्तरिक उत्पादन कम भएकाले नधानेर ट्रिप हुन पुगेको हो । साथै छिमेकी देश भारतबाट अहिले बिजुली नआएमा अहिले समस्या हुने समेत बताए ।
।
त्यस्तै अहिलेको अवस्थामा जलविद्युतमा लगानी बढाउनुपर्ने मात्र नभएर प्राधिकरणसँग पैसा छैन भनेर विद्युतगृह निर्माणको काम रोकिन नहुने समेत बताए । चारैतिर विद्युतको माग बढ्दै जाँदा उत्पादन समेत बढाउन नसकिएमा सानो घटनाले पनि विद्युत आपुर्ती बन्द हुने अवस्था आउने उनले बताए ।
‘यतिबेला प्राधिकरणसँग पैसा नभएर काम रोकिनु हो भने ऊर्जा क्षेत्रमा ठुलो सङ्कट र दुर्घटना ल्याउन सक्छ । यो एउटा उदाहरण मात्रै हो । चारैतिरबाट विद्युतको उत्पादन बढ्दै गर्दा त्यही द्रुत गतिमा बढाउन सकेनौँ भने सानो घटनामा पनि बत्ती ट्रिप भइराख्ने अवस्था हुन्छ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया