कानुनहरू पारित गर्न सरकारको मात्रै पहलकदमीले पुग्दैन : गगन थापा 

लोकपथ
308
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान कार्यान्वयनसँग जोडिएका विषय सरकारको मुख्य प्राथमिकतामा रहेको बताएका छन् । 

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्  । उनले संविधान कार्यान्वयनसँग जोडिएका कानुनहरूलाई पारित गर्न सरकारको मात्रै पहलकदमीले नपुग्ने बताए । 

उनले कानुनहरूलाई पारित गर्न सरकार, संसद् र संसदीय समितिहरूले सँगसँगै काम गर्नुपर्नेमा जोड दिए । महामन्त्री थापाले शिक्षा विधेयक, प्रहरी विधेयकलगायतका संघीयता कार्यान्वयनसँग जोडिएका करिब ४० वटा विधेयकहरू पारित गर्नुपर्ने सरकारमाथि चुनौती रहेको बताए ।  

उनले सरकारमा रहेका मन्त्रीहरूका शासकीय लक्ष्यहरूलाई पूरा गर्न मद्दत पुग्ने तीस बढी कानुन पारित गर्नुपर्ने आवश्यकता रहेको बताउँदै संसद्को सक्रियता बढाउनुपर्ने जिकिर गरे ।  

उनले भने, ‘यो सरकारले अहिले आफ्नो कामहरूको मुख्य प्राथमिकतामा संविधान कार्यान्वयनसँग जोडिएका कानुनहरूलाई चाँडोभन्दा चाँडो पारित गर्ने विषय राखेको छ । यही अनुसार पहलकदमी लिइएको छ । यसका निम्ति सरकारले पहलकदमी लिएर मात्रै हुँदैन । संसद् र संसदीय समितिहरूले सँगसँगै काम गर्नुपर्नेछ । शिक्षा विधेयक, प्रहरी विधेयक लगायतका करिब करिब ४० वटा सङ्घीयता कार्यान्वयनसँग जोडिएका विधेयकहरू पारित गर्नुपर्नेछ । अस्ति एक पटक सरकारका मन्त्री ज्युहरूसँग बसेर तपाईँहरूले तत्काल काम गर्न आवश्यक ठान्नुभएको, जुन कामहरूले तपाईँहरूले लिएका शासकीय लक्ष्यहरू पूरा गर्न मद्दत पुग्छ, ती कानुनहरू कति वटा तुरुन्तै पारित गर्नुपर्दै गर्दा कति वटा कानुनहरू हुन्छ भनेर छलफलमा बस्दा करिब करिब ३० वटा भन्दा बढी कानुनहरू आउने रैछन् । यसलाई हामीले पास गर्नुपर्नेछ । हाम्रो संसद्को सक्रियता यति धेरै बढाउनुपर्नेछ ।’ 

उनले समयमै कानुन नबनाउनुमा सरकार, संसद् र संसदीय समिति सबै दोषी रहेको धारणा राखे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?