हिमालदेखि महासागरसम्मको सोच जरुरी : प्रधानमन्त्री ओली

लोकपथ
147
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि महासागरसम्मको सोच जरुरी रहेको बताएका छन् । शुक्रबारबाट काठमाडौंमा सुरु भएको सगरमाथा संवादको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।  

उनले हिमालहरू विश्वका विभिन्न वार्ताहरूमा उपेक्षित हुने गरेको भन्दै हिमाललाई नबिर्सिन विश्वसँग खबरदारी गरे ।  उनले हिमालले नै जलवायु सन्तुलन राख्ने र पानीको भण्डारण गर्ने बताए । जीवन र विश्व बचाउन साहसी र एकीकृत दृष्टिकोण चाहिएको उनको भनाइ छ ।  

हिमालहरू उपयुक्त सम्मानका हकदार रहेको भन्दै उनले स्वच्छ ऊर्जामा लगानी बढाउनुपर्ने, जलवायु–उत्थानशील बालीहरू बढाउनुपर्नेमा जोड दिए । जोखिम मूल्याङ्कन बलियो बनाउन विश्वका नेताहरूसँग आह्वान गरे ।  

प्रधानमन्त्री ओलीले भने, ‘हामी हिमाललाई नबिर्सौँ । विश्वका वार्ताहरूमा तिनीहरू प्रायः जसो उपेक्षित हुन्छन् । तर तिनैले जलवायु सन्तुलन कायम राख्छन् । तिनैले पानीको भण्डारण गर्छन् । तिनैले जमिनलाई पुनः सिञ्चित गर्छन् । तिनैले जीवनको रक्षा गर्छन् । जब हिमाल पग्लिन्छन् -उपत्यकाहरू पीडित हुन्छन् । नदीहरू सुक्छन् । बालीहरू नष्ट हुन्छन् । सागरहरू उर्लन्छन् । जीवन विखण्डित हुन्छ । हिमालय-हाम्रो तेस्रो ध्रुव-विश्व औसतभन्दा छिटो तात्दैछ । हिमनदीहरू हराउँदैछन् । हिमतालहरू फैलिंदैछन् । तटीय क्षेत्रका करोडौँ मानिसहरू-जोखिममा छन् । हामीलाई साहसी, एकीकृत दृष्टिकोण चाहिएको छ । हिमालदेखि महासागरसम्मको सोच चाहिएको छ । हिमालहरू उपयुक्त सम्मानका हकदार हुन् । हामीले ध्यान दिनुपर्छ । विशेष वित्तीय सहयोगसहित । तदनुकूलका नीतिहरू सहित । हामीले स्वच्छ ऊर्जामा लगानी गर्नुपर्छ । जलवायु–उत्थानशील बालीहरू बढाउनु पर्छ । महिला र युवालाई अगाडि ल्याउनु पर्छ । र विस्थापितहरूलाई सुरक्षा दिनुपर्छ । आउनुस् जोखिम मूल्याङ्कन बलियो बनाऔँ । पूर्व सूचना प्रणाली निर्माण गरौँ । डाटा साझेदारी गरौँ । सीमापार सहकार्य मजबुत पारौँ । र सबैभन्दा महत्त्वपूर्ण-हाम्रो प्राचीन ज्ञानलाई आधुनिक नवप्रवर्तनसँग आबद्ध गरौँ । यसरी नै हो-दिगो उत्थानशीलता बढाउने । यसरी नै हो-पृथ्वीको सम्मान गर्ने । र यसरी नै हो-हाम्रो साझा भविष्य जोगाउने ।’

प्रधानमन्त्री ओलीले साझा भविष्य जोगाउन सबै मिलेर काम गर्नुपर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?