भावी गभर्नरको चर्चामा आएका डा. विश्व पौडेलविरुद्धको रिट सर्वोच्चद्वारा दरपिठ

लोकपथ
3.8k
Shares

काठमाडौं । सर्वोच्च अदालतले डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ गरेको छ । 

डा. पौडेललाई नेपाल राष्ट्रबैंकको ऐनविपरीत गभर्नर नियुक्त गर्न लागिएको भन्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले पेस गरेको रिट सर्वोच्च प्रशासनले आज शुक्रबार दरपिठ गरेको हो ।

सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार, रिटमा डा. पौडेललाई गभर्नर सिफारिस समितिले गभर्नर नियुक्तिका लागि सिफारिस गरेको नदेखिएको, सामूहिक हकअधिकार हनन भएको भनिए पनि प्रस्ट नखुलाएकोलगायतका कारणले रिट दरपिठ भएको हो ।

नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने चर्चाबिच अर्थशास्त्री डा. पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो । 

दायर रिटमा राजनीतिक दलबाट सिधै नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दाबी गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच गभर्नरमा भट्टको विकल्पमा अर्थशास्त्री डा. पौडेललाई ल्याउने सहमति भएको थियो । सोसँगै पौडेलले गभर्नर सिफारिस समिति सदस्यबाट राजीनामा दिएका थिए । 

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २१ (क) ले राजनीतिक दलको सदस्य गभर्नरमा नियुक्त हुन नसक्ने व्यवस्था गरेको भन्दै ऐनविपरीत गएर डा. पौडेललाई नियुक्त गर्न लागिएकोले नियुक्ति रोक्नुपर्ने रिट निवेदकको माग थियो । डा. पौडेल २०७९ मा भएको संसदीय निर्वाचनमा नेपाली कांग्रेसबाट चितवन १ को उम्मेदवार बनेका थिए ।

यसअघि उप्रेती र थापाले डा. गुणाकर भट्टलाई पनि गभर्नर बनाउन लागेको भन्दै सर्वोच्चमै रिट दायर गरेका थिए भने त्यसअघि अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक नियुक्तिसम्बन्धी मापदण्डमा भएको उमेर हद संशोधनविरुद्ध पनि रिट दायर गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?