एमाले युटर्न भएपछि संसदीय समितिबाट निजामती सेवा विधेयक पारित

लोकपथ
5.7k
Shares

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट संघीय निजामती सेवा विधेयक पारित भएको छ ।

आज शुक्रबार बसेको समितिको बैठकले सर्वसम्मत रूपमा संघीय निजामती सेवा विधेयक पारित गरेको हो । 

विधेयकमा ‘कुलिङ पिरियड’ र कर्मचारीको अवकाश उमेरहद कसरी लागू गर्ने भन्नेजस्ता विषय टुंगिन बाँकी रहेकोमा त्यसलाई पनि आज टुंगो लगाएर विधेयक पारित गरिएको समितिका सभापति रामहरि खतिवडाले बताए । 

समितिमा संघीय निजामती सेवाबाट अवकाश भएकाहरूले संवैधानिक नियुक्ति खान दुई वर्ष पर्खनुपर्ने विषयमा सहमति जुटेको थियो । 

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायत बहुमत सांसद कुलिङ पिरियड दुई वर्ष राख्ने पक्षमा उभिँदै आएकोमा एमालेका सांसदहरू भने एक वर्ष कुलिङ पिरियड राख्नुपर्ने पक्षमा थिए । यसले पनि विधेयक पारित हुन ढिलाइ भएको थियो । 

तर एमालेका सांसदहरू युटर्न हुँदै दुई वर्ष कुलिङ पिरियड राख्न सहमत भएपछि सर्वसम्मत रूपमा विधेयक पारित हुने अवस्था बनेको हो ।

शिक्षा मन्त्रीसमेत रहेका एमाले सांसद रघुजी पन्तले कुलिङ पिरियड एक वर्ष राख्नुपर्ने पक्षमा वकालत गर्दै आएका थिए । तर आज उनले दुई वर्ष कुलिङ पिरियड राख्न आफू पनि सहमत रहेको धारणा राखेका थिए ।

आजको बैठकमा कांग्रेस सांसद एवं गृहमन्त्री रमेश लेखकले दुई वर्ष कुलिङ पिरियड राख्ने प्रस्ताव गरेकोमा सांसदहरूले सहमति जनाएका थिए । त्यसपछि सर्वसम्मत रूपमा विधेयक पारित भयो ।

अब कर्मचारीको अवकाश उमेर हद ५८ वर्ष रहेकोमा ६० वर्ष राख्ने सहमति भएको छ । ६० वर्षमा कर्मचारी अवकाश हुने सहमति यसअघि नै बने पनि कसरी कार्यान्वयन गर्ने भन्नेमा मतभेद थियो । अब चरणबद्ध रूपमा कार्यान्वयन गर्ने सहमति भएको छ । विधेयक पारित भएको वर्ष ५८ वर्षमै कर्मचारी अवकाश हुनेछन् भने त्यसको एक वर्षपछि ५९ र त्यसको एक वर्षपछि ६० वर्षमा अवकाश हुने गरी सांसदहरूले विधेयकमा सहमति जुटाएका हुन् ।

उक्त विधेयक २०८० फागुन २१ गते सदनमा दर्ता गरिएको थियो । विधेयक ०८१ जेठ १५ गते संसदीय समितिमा पठाइएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?