काठमाडौं । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा शुक्रबार बिहान पौने ६ बजे तीव्र गतिको कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु भएको छ ।
बीएबी ९५९९ नम्बरको कारको ठक्करबाट ६० वर्षीया शान्ता खत्री र उनकै उमेरकी तिलकुमारी रायमाझीको मृत्यु भएको हो । दुवैको घटनास्थलमै मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी मोहनमणि अधिकारीका अनुसार, बिहान सबेरै सडकमा हिँडिरहेका बेला बुद्धभूभि–१ वसन्तपुरस्थित पत्थरकोट–गोरुसिंगे सडक खण्डमा कारको ठक्करबाट उनीहरूको मृत्यु भएको हो । ‘दुर्घटनास्थलबाट प्रहरीले दुवैलाई उपचारको लागि जिल्ला अस्पताल तौलिहवा लगेको थियो, डाक्टरले मृत घोषणा गरे,’ उनले भने ।
तीव्र गतिको सो कार सडकमा हिँड्दै गरेका यात्रुलाई ठक्कर दिएपछि उछिट्टिएर सडक किनारामा पुगेको थियो ।
दुर्घटनापछि कार चालक ३५ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया