एजेन्सी । गाजामा बिहीबार बिहानदेखि जारी इजरायली हवाई आक्रमणमा परी कम्तीमा ११४ जनाको ज्यान गएको छ। यो आक्रमण अमेरिकाद्वारा समर्थित एक अन्तर्राष्ट्रिय सहायता समूहले महिनाको अन्त्यसम्म राहत वितरण सुरु गर्ने घोषणा गरेसँगै सुरु भएको हो।
गाजाको नागरिक सुरक्षा निकायका अनुसार दक्षिणी गाजाको खान युनिसमा विस्थापितहरू बसोबास गरिरहेका घर र पालहरूमा बम खसालिँदा ५६ जनाको मृत्यु भएको छ, जसमा महिलाहरू र बालबालिका समेत परेका छन् । नासेर अस्पतालले मृतकमध्ये धेरैजसो सर्वसाधारण रहेको पुष्टि गरेको छ।
त्यसैगरी, जबालिया शरणार्थी शिविरमा रहेको स्वास्थ्य क्लिनिक र प्रार्थना स्थलमा गरिएका हवाई आक्रमणमा १३ जनाले ज्यान गुमाएका छन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यमले दक्षिणी गाजाको नौ स्थानमा छुट्टाछुट्टै हवाई आक्रमण भएको जानकारी दिएका छन्।
सैन्य अभियान जारी रहँदा इजरायली सेनाले उत्तरी गाजाका केही भाग खाली गर्न स्थानीयहरूलाई आदेश दिएको छ। यसले गाजाको उत्तरी क्षेत्रका बासिन्दामाथि थप विस्थापनको खतरा थपेको छ।
यो सबै घटनाक्रम त्यतिबेला घटिरहेको छ जब गाजामा अत्यावश्यक खाद्य र स्वास्थ्य सेवाको चरम अभाव छ, र अन्तर्राष्ट्रिय समुदायबाट इजरायललाई संयम अपनाउन आग्रह गरिँदै आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया