काठमाडौं । साउदी अरबको मक्का–मदिना हज यात्रा गर्न लागेका हज यात्रीहरूलाई रोग प्रतिरोधात्मक खोप प्रदान गरिएको छ । बिहीबार काठमाडौंस्थित पञ्चकाश्मिरी मस्जिदमा हज यात्रीहरूलाई रोग प्रतिरोधात्मक खोप प्रदान गरिएको हो ।
कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विगत वर्षहरूभन्दा यस वर्षको हज यात्रालाई व्यवस्थित बनाउने प्रयास गरेको बताए ।
उनले मक्कामा हज गर्न जानु मुस्लिम समुदायको परम्परा रहेको उल्लेख गर्दै हज यात्रालाई थप व्यवस्थित गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले हज गर्न जान लागेका यात्रीहरूलाई शुभकामना समेत व्यक्त गरे ।
उनले भने, ‘नेपाली मुस्लिम समुदायको परम्परागत विषय हो । यसलाई व्यवस्थित गर्ने हामीले प्रयत्न गरेका छौँ । अहिले हज यात्रामा एक हजारभन्दा धेरै जना मक्कामदिना जाँदै हुनुहुन्छ । तपाईँहरू सबैलाई शुभकामना समेत दिन चाहन्छु । अगामी वर्षहरूमा यसलाई अझै धेरै व्यवस्थित गर्ने कार्य गर्नेछौँ ।’
नेपाल हज यात्र समितिका अध्यक्ष इश्रा मुल्ला मियाँले नेपालमा हज हाउस निर्माण गरिदिन सरकारसँग माग गरे । उनले नेपालमा हज हाउस नभएकै कारण कस्मिरी मस्जिदमा बस्न बाध्य भएको बताए । उनले अहिले पनि कस्मिरी मस्जिदमा बस्ने व्यवस्था नभए नेपाली हज यात्रीहरू अलपत्र पर्ने अवस्था रहेको उल्लेख गर्दै हज हाउसको व्यवस्थाका लागि पहल गरिदिन स्वास्थ्य मन्त्री पौडेलसँग आग्रह गरे ।
उनले भने, ‘नेपालमा एउटा हज हाउस नभएको कारणले गर्दा हामी कस्मिरी मस्जिदमा बस्न बाध्य छौँ । यदि कस्मिरी मस्जिद हुन्थेन भने नेपाली हज यात्रीहरू बाटोमै अलपत्र पर्ने अवस्था पनि मैले देखेको छु । अहिलेको सरकारले एउटा हज हाउसको लागि व्यवस्था गरिदियोस् भन्ने आग्रह पनि गर्न चाहन्छु ।’
यस पटक नेपालबाट साउदी अरबस्थित मक्कामा हज गर्न एक हजार एक सय ७० जना जाँदै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया