काठमाडौं । सरकारले झापाको दमकमा निर्माण गरिएको भ्यूटावरलाई शुल्क लिइ सञ्चालन गर्न स्वीकृती दिएको छ ।
गत वैशाख २५ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता समेत रहेका सञ्चार एवं सूचनाप्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
सरकारको ठूलो लगानीमा निर्माण भएपनि सञ्चालनमा नआएको भन्दै सरकारको आलोचना भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला दमकमा राज्यको अर्बौँ लगानी गरेर उक्त व्यापारिक कम्प्लेक्स निर्माण गरिएको थियो ।
‘दमक भ्यू–टावर (दमक व्यापारिक कम्प्लेक्स) हाललाई शुल्क लिइ हाललाई शुल्क दिइ सञ्चालन गर्न स्वीकृती दिने,’ निर्णयमा भनिएको छ ।
प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र समेत पर्ने सो क्षेत्रमा निर्माण गरिएको भ्यूटावर गत ०८१ साल मंसिर २३ गते उद्घाटन गरिएको थियो ।
२०७६ सालमा ओलीले दोस्रो कार्यकालका क्रममा यस टावरको शिलान्यास गरेका थिए । तेस्रो कार्यकालको प्रधानमन्त्री भएकै समयमा उनले देशकै अग्लो भनिएको यो टावरको उद्घाटन गरेका हुन् ।
१८ तला रहेको उक्त भ्यूटावरको संरचना निर्माण गर्न १ अर्ब ५६ करोड १४ लाख रुपैयाँ खर्च भएको छ ।
त्यस्तै सरकारले डडेल्धुराको परशुराम नगरपालिका मातहतको १५ शैयाको जनसङ्ख्या मन्त्रालय जोगबुढा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गर्ने गरी हस्तान्तरण गर्न स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ ।
औद्यौगिक सम्पत्तिसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने, जल तथा मौसम विज्ञान विभाग र अन्तर्गतका निकायहरूको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने लगायतका निर्णयहरु समेत गरेको प्रवक्ता गुरुङले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया