काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सांसद हरि ढकालले राज्य संयन्त्रहरू दलीय चक्रव्यूहमा फसाएर राजनीतिक दलहरूले आफ्नो स्वार्थअनुकुल प्रयोग गरेको आरोप लगाएका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले राज्य संरचनाहरू चक्रव्यूहमा फसाएर निहित स्वार्थका लागि प्रयोग भइरहँदा तत्काल फाइदा भए पनि आम नागरिक र विश्व जगत चकित भइरहेको बताए ।
उनले राष्ट्र बैंकजस्तो गरिमामय संस्थाको प्रमुख नियुक्तिका विषयमा लज्जास्पद र ऐतिहासिक भुल भइरहेको भन्दै आगामी दिनमा यसले राष्ट्र बैंकको गरिमा क्षयीकरण हुने बताए ।
विगतमा पनि दलीय करणको बाछिटा राष्ट्र बैंकमा परिसकेको बताउँदै सांसद ढकालले राजनीतिक बाछिटाबाट उत्पन्न परिस्थिति सबैले देखेको स्मरण गराए । उनले दलहरूले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा दलहरूले गरिरहेको अभ्यास निन्दनीय भएको बताए ।
उनले भने, ‘दलीय करणको चक्रव्यूहमा हाम्रा राज्यसंयन्त्रहरु कसरी फसेका छन् हामी सबै जानकार छौँ । यो चक्रव्यूहमा संरचनाहरू फसाएर राजनीतिक दलले आफ्नो स्वार्थका लागि प्रयोग गर्दा र आफ्ना र आफन्तीका लागि प्रयोग गरिँदा त फाइदै भएको होला तर आम नागरिक, विश्व जगत र सबै चकित हुनेगरि हाम्रो राज्यका संरचनाहरु दलीय चक्रव्यूहमा फसेका छन् । यसै सन्दर्भमा राष्ट्र बैंकजस्तो संस्थामा गभर्नर नियुक्तिका विषयमा जुन किसिमको लज्जास्पद अभ्यास र ऐतिहासिक भुल गरिँदै छ यसले भोलिका दिनमा अलिकति बचेको राष्ट्र बैंकको गरिमा पनि क्षयीकरण हुने निश्चित छ र क्षयीकरण पक्का हुन्छ । विगतमा दलीय करणको बाछिटा राष्ट्र बैंकमा परेको थियो । त्यो राजनीतिक बाछिटाले विगतमा अर्थ मन्त्रालयसँग राष्ट्र बैंकको द्वन्द्व सतहमै आएको थियो । बजेट नीति र मौद्रिक नीति कार्यान्वयनमा दलीय बाछिटाले कस्तो असर पार्यो सबै जानकार छौँ । यसले समग्र अर्थतन्त्रमा कस्तो असर पार्यो, निजी क्षेत्रलाई कसरी हतोत्साहित गर्यो ? यी चिज जान्दा जान्दै फेरि दलीय करणको अभ्यासमा दलबाट नै खुलम खुला रूपमा हाम्रा दलका तर्फबाट भनेर जुन किसिमको अभ्यास गरिँदै छ, त्यो निन्दनीय छ । यस प्रकारका दलीय करणका शैलीले संरचनामा भएका कब्जाका कारणले गर्दा विगतमा धितोपत्र बोर्डमा १० महिना सिइओ नियुक्त नहुँदा कस्तो प्रभाव रह्या सिंगो सदनले बहस गर्नुपर्ने होइन ?’
उनले विगतमा राष्ट्र बैंकमा दलीय करणको प्रभावले पारेको असरबारे सिंगो सदनमा बहस गर्न माग गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया