नागढुंगामा यसकारण मूल सडकमै ट्राफिकका प्रहरी इन्सपेक्टरले प्रहरी जवानलाई कुटेका रहेछन् 

लोकपथ
8.4k
Shares

काठमाडौं । काठमाडौंको नागढुंगामा ट्राफिकका एक इन्स्पेक्टरले प्रहरीका एक जवानलाई कुट्नुमा प्रहरी जवानले काठमाडौं छिर्न लागेका गाडीहरूबाट अवैध रूपमा रकम उठाउनु नै देखिएको छ । 

हिजो बुधबार मात्रै मुख्य सडकमै युनिफर्ममै रहेका ट्राफिक प्रहरी निरीक्षकले प्रहरी जवानलाई कुटेको भिडियो सार्वजनिक भएपछि प्रहरीले यस विषयमा आन्तरिक रूपमा छानबिन अघि बढाएको छ । 

छानबिनकै क्रममा प्रहरी जवान कुट्ने ट्राफिक प्रहरी इन्स्पेक्टर जितेन्द्रकुमार साह र कुटाई खाने प्रहरी जवान मदन खड्कालाई जिम्मेवारीबाट हटाइसकिएको छ । 

प्रहरी स्रोतका अनुसार अहिलेसम्मको छानबिनले कुटाइ खाएका प्रहरी जवानले काठमाडौं छिर्न लागेका गाडीहरूबाट अवैध रूपमा रकम उठाएको खुलेको छ ।

प्रहरी स्रोत भन्छ, ‘घटना हुने बेला प्रहरी र ट्राफिक दुवै आ–आफ्नो ड्युटीमा रहेछन् । त्यसबेला काठमाडौं प्रवेश गर्न लागेको भारतीय नम्बर प्लेटको गाडी गाडीबाट प्रहरी जवानले रकम लिएको भन्ने देखिएको छ ।’

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता शेखर खनालका अनुसार, कुट्ने र कुटाइ खाने दुवै प्रहरीलाई कारबाही गरी तत्कालै जिम्मेवारीबाट हटाइएको छ । 

प्रहरी वरिष्ठ उपरीक्षक खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुटपिट भएको सार्वजनिक भिडिओ तथा समाचारका सम्बन्धमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । सो कार्यमा संलग्न देखिएका प्रहरी कर्मचारीहरूलाई हालको जिम्मेवारीबाट हटाई आवश्यक छानबिन भइरहेको ब्यहोरा जानकारी गराइन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?