एउटै राजनीतिक दलले पाँच वर्ष मुलुकको नेतृत्व गर्न मिल्ने आधार तयार पारौँ : महासचिव पोखरेल

लोकपथ
539
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एउटै राजनीतिक दलले पाँच वर्ष मुलुकको नेतृत्व गर्न मिल्ने आधार तयार गर्न आवश्यक रहेको बताएका छन् । 

काठमाडौंमा नेकपा एमालेले आयोजना गरेको नेपालको वर्तमान आर्थिक अवस्था र आगामी बजेटको सन्दर्भमा राजनीतिक पार्टीले लिनुपर्ने पहलकदमी सम्बन्धमा निजी क्षेत्रका व्यवसायीहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्  । 

उनले मुलुकमा बलियो राज्यको सरकारको निर्माण नभएसम्म सुधारको प्रक्रिया कमजोर हुने भन्दै बलियो निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्न जरुरी रहेको बताए । आगामी निर्वाचनमा मिलीजुली सरकार नभई एउटै राजनीतिक दलले पाँच वर्ष नै सरकार चलाउने खालको आधार तयार गर्नुपर्ने उनको भनाइ छ  । 

महासचिव पोखरेलले राष्ट्रिय पार्टीहरूलाई बलियो नबनाएसम्म नीतिगत सुधार हुन नसक्ने बताए । प्रशासनिक झमेला र सुधारमा सबैले समस्या व्यहोरिरहेको भन्दै नेपालको ब्युरो केसीलाई लोभी बनाउने काम राजनीतिक दल र निजी क्षेत्र नै गरेको उनको आरोप छ ।  

महासचिव पोखरेलले भने, ‘जबसम्म मुलुकमा एउटा बलियो राज्यको निर्माण हुँदैन, सुधारको प्रक्रिया कमजोर हुन्छ भन्ने अर्थमा हामीले बलियो निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने कुरा । यो मिलीजुली सरकार होइन । बलियो सरकार निर्माण गर्ने दिशातर्फ मुलुकलाई लैजानुपर्छ भन्ने अर्थमा दुई वटा पार्टी मिलेर आउने चुनाव एमाले वा कांग्रेसले जिते पनि, जसले जिते पनि पाँच वर्ष नै सरकार चलाउने खालको आधार तयार गर्नुपर्दछ भन्ने मान्यता किन बनाएका छौँ त भन्दा यस्तै प्रकारको नीतिगत सुधारका लागि हो । तर तपाईँहरू जबसम्म राष्ट्रिय पार्टीहरूलाई बलियो बनाउनु पर्दछ भन्ने कुरामा निजी क्षेत्र एक भएर उभिँदैन । तबसम्म यी कुरा कठिन छन् । त्यस अर्थमा सुधारको विषय तपाईँहरूको पनि संकल्प बन्नुपर्छ । माग गरेर मात्रै हुँदैन । वातावरण तयार गर्ने कुरा पनि त्यत्तिकै जरुरी छ । प्रशासनिक झमेला र सुधारको सन्दर्भको कुरा छ । नेपालमा हरेक क्षेत्रले व्यहोरिरहेको समस्या हो यो । नेपालको ब्युरो केसीलाई लोभी कसले बनायो भन्दा तपाईँ हामीले बनाएका छौँ । अर्कोतिर इमान्दार भनिएकाहरू कस्ता छन् भने कामै नगरी बिताउने खालका छन् । भ्रष्टहरूले कति भ्रष्टाचार गर्छन् होला भन्दा लगानीको १५ प्रतिशतसम्म आर्जन गर्दछन् होला । नोक्सान पुर्‍याउँछन् होला । तर विलम्ब गर्नेले शतप्रतिशत नोक्सान पुर्‍याउँछ । अर्थात् लागत दुई गुणा वृद्धि गर्दिन्छ ।’

महासचिव पोखरेलले मौद्रिक नीति स्थिर बनाउन नसके व्यवसायका जोखिमहरु जहिले पनि रहने बताए । आर्थिक विकासमा मौद्रिक नीतिको स्थिरता जरुरी रहेको उल्लेख गरे ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?