काठमाडौं । सशस्त्र प्रहरी बल दाङका गणपति एसपी मनोज धितालको गैरकानुनी धन्दाले सीमा नाघेको छ । एसपी धितालले आफू मातहतको गुल्म र बेसका कमान्डरलाई ‘जसरी पनि मासिक रूपमा पैसा बुझाउनु’ भन्ने आदेश दिएकाले गुल्मका डीएसपी र बेसका नायव निरीक्षक (सई) हरू पनि गैरकानुनी धन्दामा लाग्न बाध्य भएका छन् ।
केही दिनअघि तुलसीपुर गुल्मका डीएसपी नरेश खड्काले त्यहाँका गिटी र बालुवा व्यवसायी र ट्याक्टर व्यवसायीलाई धम्क्याएका थिए । उनले व्यवसायीलाई धम्क्याउँदै महिनावारी बुझाउन निर्देशन दिएका थिए । एसपी धिताललाई जसरी पनि मासिकरुपमा रकम बुझाउनु परेपछि डीएसपी खड्काले गिटी र बालुवा व्यवसायीलाई धम्क्याएको बताइएको छ । उनले धम्क्याएपछि ती व्यवसायीले प्रतिकार गर्दा ठूलै लफडासमेत भएको थियो ।
एसपी धिताललाई तुलसीपुर र घोराहीमा रहेको कारागार सुरक्षा बेस, कोइलाबासमा कार्यरत डीएसपीले पनि मासिक रूपमा रकम बुझाउनुपर्ने हुन्छ । उनीहरूबाट मासिक २५/२५ हजार रुपैयाँका दरले बुझाउनु पर्ने स्रोतको दाबी छ । त्यति मात्र होइन दाङको सीमा नाकामा रहेका कोइलाबास, सुनपत्थरी, भैसाही, खांग्रालगायतका सबै बीओपी बाट समेत एसपी धितालले असुल्दै आएका छन् । ‘मासिक नबुझाए छड्के निरीक्षण भन्दै दुःख दिन्छन्, त्यसैले नबुझाए सुखै छैन,’ एक जना बीओपीपतिले गुनासो गरे ।
एसपीलाई रकम बुझाउनकै लागि सीमामा रहेका युनिटमा ६० प्रतिशतसम्म बिदा आउटमा छोड्ने गरिएको बताइन्छ । दाङका प्रायः सबै बीओपीमा सईले कमान्ड गर्छन् । गणपतिलाई मासिकरुपमा रकम बुझाउनु पर्ने भएपछि तनावको जिन्दगी जिउनु परेको ती सईले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया