चिनियाँ राष्ट्रिय जनकांग्रेस स्थायी समिति उपाध्यक्ष काठमाडौंमा

लोकपथ
266
Shares

काठमाडौं । चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ जी चारदिने औपचारिक भ्रमणका लागि बुधबार राति काठमाडौं आइपुगेका छन् ।

१५ सदस्यीय उच्चस्तरीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका सियाओ नेपाल सरकारले पहिलोपटक आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ कार्यक्रममा सहभागी हुँदैछन्।

उपाध्यक्ष सियाओको आगमनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही, नेपाल–चीन संसदीय मैत्री समूहका संयोजक नारायणकाजी श्रेष्ठ, नेपालस्थित चिनियाँ राजदूत छङ सोङ, संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयलगायत उच्चपदस्थ व्यक्तिहरूले स्वागत गरेका थिए ।

नेपाल भ्रमणका क्रममा सियाओले प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल तथा उपसभामुख इन्दिरा रानामगरसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। उपसभामुख रानामगरले सियाओको सम्मानमा आज साँझ विशेष रात्रिभोजको आयोजना पनि गर्नेछिन्।

सगरमाथा संवादमा सहभागितासँगै चिनियाँ प्रतिनिधिमण्डलले काठमाडौं उपत्यकाका प्रमुख सांस्कृतिक तथा ऐतिहासिक स्थलहरू -बौद्धनाथ, स्वयम्भूनाथ, बसन्तपुर दरबार क्षेत्र र भक्तपुर दरबार क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

चारदिने भ्रमण सम्पन्न गरी चिनियाँ प्रतिनिधिमण्डल जेठ ३ गते दिउँसो स्वदेश फर्किने कार्यक्रम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?