ओलम्पिकमा नेपाल नामक पुस्तक विमोचन 

लोकपथ
112
Shares

काठमाडौं । सन् १९६४ देखि २०२४ सम्म नेपालको ओलम्पिक सहभागितालाई समेटिएको ओलम्पिकमा नेपाल नामक पुस्तक विमोचन भएको छ । राष्ट्रिय खेलकुद परिषद्ले प्रकाशन गरेको ओलम्पिकमा नेपाल नामक पुस्तक बुधबार एक कार्यक्रमका बिच विमोचन भएको हो । 

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, ओलम्पियन वैकुण्ठ मानन्धर, जितबहादुर केसी, दीपक विष्ट, विष्णुबहादुर सिंहलगायत कुल १५  जनाले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका हुन् । उक्त पुस्तकमा प्यारालिम्पिक, समर तथा ग्रीष्मकालीन ओलम्पिक र युथ ओलम्पिकमा नेपाली खेलाडीको सहभागिताबारे उल्लेख छ । 

खेलाडीहरूको संक्षिप्त जानकारी तथा उपलब्धि उक्त पुस्तकमा समावेश रहेको राखेप प्रचारप्रसार शाखा प्रमुख खुशराज दाहालले जानकारी दिए ।

पेरिस ओलम्पिकलाई केन्द्र बनाएर उक्त पुस्तक प्रकाशित गरिएको छ । हालसम्म सहभागी खेलाडीको विवरण पुस्तकमा समेटिएको छ । राखेका सदस्यसचिव घिसिङले नेपाली खेलकुदको इतिहासलाई जीवन्त राख्न यो पुस्तकले सहयोग पुर्‍याउने बताए । चार पटकसम्म भाग लिएका ओलम्पियन वैकुण्ठ मानन्धरले खेलाडीहरूलाई सबै नागरिकसम्म पुर्‍याउने काम पुस्तकले गर्ने आशा व्यक्त गरे । 

अर्का ओलम्पियन संघका अध्यक्ष दीपक विष्टले पुस्तक परिषद्को महत्त्वपूर्ण सम्पत्ति भएको उल्लेख गरे । राष्ट्रिय खेलकुद परिषद्ले ओलम्पिकमा नेपाल, एशियाडमा नेपाल र राष्ट्रिय खेलकुदको इतिहास तथा वार्षिक दर्पणसहित पछिल्लो तीन वर्षमा पाँच वटा पुस्तक प्रकाशन गरी सकेको प्रचार शाखाका प्रमुख दाहलले जानकारी दिए । 

उक्त कार्यक्रममा मिसन २०२६ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका खेलाडीलाई उत्प्रेरणा गर्नुका साथै खेल सामाग्रीसमेत वितरण गरिएको राष्ट्रिय टिम तयारीका उपनिर्देशक दीपक श्रेष्ठले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?