विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफलबाट प्राप्त सुझाव निरर्थक हुँदैन : अर्थमन्त्री पौडेल

लोकपथ
77
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलबाट प्राप्त सुझाव निरर्थक नहुने बताएका छन् । 

बुधबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको विषयमा सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले आगामी बजेट निर्माणका सन्दर्भमा सांसदहरूले व्यक्त गरेको चिन्ता, सुझाव र विचार निरर्थक नहुने बताए । 

उनले प्राप्त सुझावलाई बजेट निर्माणका क्रममा ख्याल गर्ने र सोही सुझावबाट निर्देशित भएर बजेट निर्माण हुनेमा विश्वस्त हुन आग्रह गरे । बजेट अनुशासनका सन्दर्भमा यसबीचमा धेरै गहकिला अनुभवहरू आर्जन गरेको बताउँदै उनले वित्त सन्तुलन र बजेट अनुशासनमा रहेका जनताका आकांक्षालाई सम्बोधन गर्नेतर्फ ध्यान दिने स्पष्ट पारे । साथै उनले वित्त सन्तुलन र बजेट अनुशासनमा फर्कन नसक्ने हो भने जनताका आकांक्षा पनि सम्बोधन नहुने र समृद्धितर्फ पाइला चाल्नसमेत नसकिने बताए । 

उनले भने, ‘माननीय सदस्यज्यूहरूले दिनुभएका सुझावहरू, टिप्पणीहरू, केही अपेक्षाहरू अभिव्यक्त भएका छन् । छलफलमा भाग लिनुभएका माननीयहरूलाई धन्यवाद दिन चाहन्छु । यहाँहरूले गर्नुभएको चिन्तन, दिनुभएको सुझाव र व्यक्त गर्नुभएको विचार निरर्थक हुँदैन । हामीले बजेट निर्माणका सन्दर्भमा एउटा प्रणाली स्थापित गरेका छौँ । जनताले तिरेको करको सदुपयोग कसरी गर्ने भन्ने विषयमा निर्णय गर्ने अन्तिम अधिकारी जनप्रतिनिधि हुन्, जनप्रतिनिधिमूलक संस्था हो । र यो त्यसरी जनताबाट उठाइएको करको सदुपयोग गर्दा कस्ता सिद्धान्तको आधारमा, कस्ता प्राथमिकताको आधारमा तय गरिन्छ भन्ने कुरा बजेट निर्माण अघि छलफल गर्ने र सांसदहरूबाट व्यक्त भएका सुझावलाई समेत आधार बनाएर बजेट निर्माण गर्ने स्थापित प्रणाली हो । प्रि बजेट छलफलमा माननीयहरूबाट गहकिला सुझाव आउनेछन् र आगामी बजेट निर्माण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने आशासहित विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिएको हो । माननीयहरूले दिनुभएको सुझावलाई आफूले बजेट निर्माणका क्रममा ख्याल गर्नेछु र निर्देशित हुनेछु भन्ने विश्वास दिलाउन चाहन्छु । हामीले जुन प्रकारको गति र ढाँचा अवलम्बन गर्दै आएका छौँ त्यसले कहिँ पुराउँदैन । त्यसैले वर्तमानको गति र ढाँचा परिवर्तन गरिएको छ । हामीले व्यवस्था गरेका स्रोतको सही सदुपयोग हुन नसक्नु अर्को अवस्था हो । नीति तथा कार्यक्रमसँग यो सिद्धान्त र प्राथमिकताको मेल छ । नीति कार्यक्रमलाई अनुसरण गर्दै यो सिद्धान्त र प्राथमिकता आएको हो । ग्रे लिष्टका सम्बन्धमा हामी प्राप्त समय सीमा अघि नै बाहिर निस्कन्छौँ । त्यही हिसाबले तयारीमा सरकार रहेको छ ।’

नीति कार्यक्रमसँग यो सिद्धान्त र प्राथमिकता मेल रहेको बताउँदै उनले वर्तमान अवस्थामा विकासको ढाँचा, गति र संस्कृति परिवर्तन गर्नुपर्नेमा जोड दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?