सशस्त्र प्रहरीले राख्यो टोलटोलमा विपद् सूचक, मनसुनपूर्व नै व्यापक तयारी 

लोकपथ
896
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले मनसुनजन्य विपद् न्यूनीकरण तथा उद्धारका लागि आफ्नो तयारी थालेको छ । यसका लागि देशभरि नै विपद् जनचेतना रेस्पोन्स पट्रोल सुरु गरिएको छ भने टोलटोलमा विपद् सूचक राख्नेदेखि सशस्त्र प्रहरीका सबै युनिटमा विपद् व्यवस्थापनका आधारभूत सामानको व्यवस्थापन गर्ने, विपद्सम्बन्धी अनुशिक्षण तथा अभ्यास सञ्चालन गर्ने लगायतका रहेका छन् । 

अघिल्ला वर्षहरूमा भएको विपद्का घटनाहरूलाई विश्लेषण गर्दै आगामी दिनमा हुनसक्ने जोखिम न्यूनीकरणका लागि अवलम्बन गर्नुपर्ने उपायका बारेमा मंगलबार प्रधान कार्यालय हलचोकमा व्यापक छलफल भएको थियो । 

उपत्यकाका सबै युनिट कमान्डर तथा फिल्डमा खटिने सिनियर, जुनियर अधिकृत तथा अन्य दर्जासमेतको सहभागितामा छलफल गर्दै फिल्डमा खटिँदा भोगेका अनुभव र समस्या तथा नयाँ रणनीतिको बारेमा पनि छलफल गरिएको छ । 

विपद् सूचकअन्तर्गत आफ्ना पूर्व कर्मचारीसमेत यसमा सहभागी गराउँदै वडा–वडामा सचेतनामूलक कार्यक्रम गर्ने सशस्त्र प्रहरीले तयारी थालेको छ । यसबाट विपद्को बारेमा तत्काल सूचना प्राप्त गर्न सकिएमा छिटो भन्दा छिटो उद्धारका कार्यमा खटिन सक्ने विश्लेषण गरिएको छ । 

यसका साथै अब प्रत्येक दर्जाको आधारभूत तालिममा अनिवार्य रूपमा १५ दिनको विपद् व्यवस्थापन तालिम सञ्चालन गरिने लक्ष्यसमेत सशस्त्र प्रहरी बलको छ । सशस्त्र प्रहरीका युनिटमध्ये विपद् व्यवस्थापन साधनश्रोत सम्पन्न कम साधनश्रोत भएका र नभएका गरी ३ तहमा विभाजन गरेर साधनश्रोत नभएका युनिटमा तत्काल आधारभूत सामाग्री व्यवस्थापन गरिनेछ । 

छलफल कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विपद् व्यवस्थापनको लागि स्थानीय स्रोतसाधनको अधिकतम प्रयोग गर्न र सामान पुगेन भनेर पन्छिने छुट कसैलाई नभएको भन्दै विपद्को समयमा सरकार छ, सुरक्षाकर्मी छन् भन्ने आम जनतामा भरोसा हुनुपर्ने बताए । 

उनले आगामी मनसुनमा के गर्ने भन्ने बारेको स्पष्ट खाका तयार गर्न समेत विभागीय प्रमुखहरूलाई निर्देशन दिएका छन् । 

विपद्को समयमा तयारी र परिचालन उत्कृष्ट हुन जरुरी रहेको र विपद् भएको स्थानमा छोटो भन्दा छोटो समयमा पुग्न सकेमा मात्र जनधनको क्षति न्यूनीकरण गर्न सकिने बताउँदै उनले २४सै घण्टा परिचालन हुनका लागि सबै युनिटमा टोलीहरू तयारी हालतमा राख्न समेत निर्देशन दिए । 

परिचालन ढिला नहोस् र सम्बन्धित ठाउँमा पुग्न अलमल नहोस् भनेर आफ्नो जिम्मेवारी क्षेत्रभित्र सबै युनिटले विपद् जनचेतना तथा रेस्पोन्स पट्रोल सञ्चालन गरी आफ्नो एरियाबारेमा जानकार रहन समेत प्रधान कार्यालयले मातहत युनिटलाई निर्देशन दिएको छ । यसैगरी समुदाय लक्षित विपद्सम्बन्धी स्वयंसेवक तालिम सुरु गरिएको छ । 

मनसुनजन्य प्रकोप न्यूनीकरण र उद्धारको स्पष्ट खाका तयार भएसँगै सबै बाहिनीपति, गणपति तथा गुल्मपतिसम्मलाई भर्चुअल माध्यमबाट त्यससम्बन्धी आवश्यक निर्देशन समेत दिइने छ । विपद् व्यवस्थापनमा विगतको अनुभव, सुधान गर्नुपर्ने विषयहरू र आगामी योजना सम्बन्धमा भएको छलफलमा फिल्डमा खटिने कमान्डर तथा अन्य दर्जाले समेत उद्धारका अनुभव र पूर्वतयारीबारे आ–आफ्नो धारणा राखेका थिए ।

सशस्त्र प्रहरी बलको हाल कुरिनटारमा विपद् व्यवस्थापन तालिम शिक्षालय तथा काठमाडौंको उपत्यकामा विपद् व्यवस्थापन गण रहेको छ । यसैगरी धनकुटाको मुलघाट, बाराको निजगढ, धादिङको आदमघाट, सिन्धुलीको खुर्कोट, मकवानपुरको कुलेखानी, म्याग्दीको बेनी र नारच्याङ, दाङको भालुवाङ, सुर्खेतको चिप्ले र डडेलधुराको अमरगढीमा विपद् व्यवस्थापन बेस स्थापना भएका छन् ।

हाल सशस्त्र प्रहरी बलसँग विपद् व्यवस्थापन तालिमप्राप्त जनशक्ति २ हजार ४ सय ८५ जना छन् भने गोताखोरको संख्या १ सय ८ पुगेको छ । सशस्त्र प्रहरी बलसँग हाल ३३ मोटरबोट तथा ९१ र्‍याफ्टबोट रहेको छ । मनसुन प्रतिकार्यको लागि सशस्त्र प्रहरी बल नेपालको १३ वटा डोजर, लोडर र एक्जाभेटरसहित तालिम प्राप्त जनशक्ति तयारी छ । जसमध्ये सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा ३ वटा, नं. १ बराह बाहिनी मुख्यालय सुनसरीमा २ वटा, नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा १ वटा, नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीमा ३ वटा, नं. २० विपद् उद्धार उपत्यका गण सिनामंगलमा १ वटा र नं. २४ कालिका गण कास्कीमा २ वटा हेभी इक्युपमेन्ट तयारी हालतमा राखिएको छ । 

यसैगरी देशका ३९ जिल्लाका ५९ वटा सशस्त्र प्रहरी बल नेपालका युनिटहरूमा १ सय २४ वटा मोटर बोट र र्‍याफ्ट बोट तथा १३ जिल्लाका १५ वटा सशस्त्र प्रहरी बल नेपाल कार्यालयहरूमा २८ वटा डिजास्टर रिलिफ सिस्टम (डिआरएस कन्टेनर) समेत तयारी हालतमा राखिएको छ । 

यसै गरी सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरी, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देही, नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत, ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलाली, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नं. २० विपद् उद्धार उपत्यका गण सिनामंगल १/१ वटा विपद् सामूहिक उद्धार एम्बुलेन्स राखिएको छ । 

त्यस्तै ए क्लासको एम्बुलेन्स सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरी, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत, ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलाली, नेपाल एपीएफ अस्पताल बलम्बु, क्षेत्रीय अस्पताल बाँके र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा १/१ वटा राखिएको छ । 

१ सय ८ जना गोताखोरहरूलाई आवश्यक उपकरणसहित सात वटै प्रदेशमा रहेका बाहिनी मुख्यालयहरू तथा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, उपत्यकास्थित नं. २० विपद् उद्धार गण सिनामंगल, विपद् व्यवस्थापन बेस खुर्कोट र सिन्धुलीमा तैनाथ गरिएको छ । 

यसैगरी सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरू, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, उपत्यकास्थित नं. २० विपद् उद्धार गण सिनामंगल, रेस्क्यु टावर फेवाताल कास्की, नारायणी नदी किनार चितवन र सबै विपद् व्यवस्थापन वेशमा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरू परिचालित रहेका छन् । 

यसका साथै विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिलाई सातै वटा प्रदेशस्थित बाहिनी मुख्यालयहरू, उपत्यकास्थित नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय, १० वटा शिक्षालय, सबै गणहरूमा एक/एक प्लाटुन र गुल्म वा सो भन्दा साना युनिटहरूमा १ सेक्सनको दरले आवश्यक स्रोतसाधनसहित तैनाथ रहने छन् । त्यसै गरी उपत्यकामा ७, कास्कीमा १, पश्चिम नवलपरासीमा १, बाँकेमा १ र कैलालीमा १ गरी जम्मा १२ वटा डिप ट्युबवेल मनसुन प्रतिकार्यको लागि तयारी हालतमा राखिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?