काठमाडौं । केन्द्रीय राजधानी काठमाडौंलाई नुवाकोटसहित अन्य जिल्ला जोड्ने पुरानो र छोटो बाटोको रुपमा पासाङल्हामु राजमार्ग चिनिन्छ ।
बालाजु–रानीपौवा हुँदै नुवाकोट पुग्ने पासाङल्हामु राजमार्गले दुई जिल्लालाई मात्र होइन छिमेकी रसुवालाई काठमाडौंसँग जोड्छ । त्यस्तै अर्को छिमेकी जिल्ला धादिङको समेत कतिपय स्थानमा सोही राजमार्ग छोटो पर्छ । तर वर्षौैँदेखि उक्त राजमार्ग नबन्दा रानीपौवा, ककनी र त्यस आसपासका जनता काठमाडौं आउन समेत अन्य घुमाउरो वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका छन् ।
सो क्षेत्रका केन्द्रीय जनप्रतिनिधि नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले उक्त राजमार्ग निर्माणका लागि संसद्मा निरन्तर आवाज उठाइरहेका थिए । ०७१ सालमा सम्झौता भइ ०७३ सालमा नै बन्नुपर्ने राजमार्ग आज दशक बितिसक्दा पनि हालत उस्तै बनेको छ ।
पटकपटक बजेट भाषण हुँदा समेत अति महत्वपूर्ण मानिएको उक्त परियोजनामा सरकारले प्राथमिकता नदिँदा बुधबारको संसद् बैठकमा भने पूर्वमन्त्री समेत रहेका सांसद केसी कडा रुपमा प्रस्तुत भए ।
प्राय संसदमा संयम भएर आफ्ना कुरा राख्ने नेता केसीले आफूले पटकपटक अति संवेदनशील विषयमा सो क्षेत्र प्राथमिकतामा पार्न कुरा उठाए पनि सरकारले नसुनेको भन्दै आक्रोशित बने । साथै उनले जिल्लाबाट दबाब बढाउने मात्र नभइ आगामी वर्षको बजेटमा पासाङल्हामु राजमार्ग निर्माणको काम प्राथमिकतामा नपरे आफूले बजेट पुस्तिका समेत च्यात्न बाध्य हुने चेतावनी दिए ।
आगामी वर्षको बजेटको प्राथमिकता र शिद्धान्तमाथि छलफल जारी रहेका बेला बुधबारको बैठकमा नेता केसीले सरकारले एक्जिम बैंकले सहयोग नगरेको भन्दै आलटाल गरिरहेको आरोप लगाए ।
‘ अनि एक्जिम बैंकले नदिएको कारणले पैसा भएन भन्ने सरकारका मान्छेहरुको जवाफबारे म सोध्न चाहन्छु, त्यो एक्जिम बैंकसँग मेरा क्षेत्रका जनताले कुरा गर्न जानुपर्ने कि ? मैले कुरा गर्नुपर्ने हो कि ? सरकारले कुरा गरेर टुंग्याउनुपर्ने हो ?,’ नेता केसीको प्रश्न थियो ।
साथै आफूले अर्थमन्त्रीसँग समेत पटकपटक व्यक्तिगत रुपमा नै भेटेर आग्रह गरेको स्मरण गराउँदै यसपालीको बजेटमा उक्त राजमार्गलाई प्राथमिकतामा राख्न आग्रह गरे ।
नेता केसीले संसदमा भनेका छन् :
म आफैँ अर्थमन्त्रीलाई यही रोष्ट्रमबाट आग्रह गर्न चाहन्छु कि, कुनै पनि नयाँ योजना दिन सक्नुहुन्न भने नदिनुस् । सम्भाव्यता अध्ययन र त्यसको पूर्णताको क्याल्कुरेशन नगरीकन बाँदरलाई मकै छरेको जसरी दिने कामले नै अहिलेसम्म स्थिति बिग्रिएको यथार्थता हो । डिटेल्स प्रोजेक्ट रिपोर्टको उपादेयतालाई हेरेर मात्रै त्यसमा बजेट राख्नुहोस् मैले त्यसमा नयाँ बजेट थप्नुस् भनिराखेको छैन । तर एउटा गम्भीर कुरा चाँही के छ भने यो बालाजु–रानीपौवा त्रिशुली सडक, यो काठमाडौंबाट नुवाकोट जोड्ने सबैभन्दा पूरानो सडक, यसले नुवाकोट–धादिङ र रसुवा तीन जिल्लालाई जोड्ने काम गर्छ । मर्मत सम्भार र पुनर्संरचनाको नाममा पुरानो बाटो सबै क्षतिग्रस्त गराइएको छ ।
०७१ मा सम्झौता भएर ०७३ मा पूर्णता दिने सम्झौता भयो । तर अति शक्तिशाली सम्पन्न ठेकेदारले काम गर्दै गरेन । त्यसलाई कसैले छुन सकेन । ०७३ बाट झण्डैझण्डै ७ पटकसम्म म्याद थपियो । तर अहिले ३ वर्षदेखि त्यसमा बजेट परेको छैन ।
अनि एक्जिम बैंकले नदिएको कारणले पैसा भएन भन्ने सरकारका मान्छेहरुको जवाफबारे म सोध्न चाहन्छु, त्यो एक्जिम बैंकसँग मेरा क्षेत्रका जनताले कुरा गर्न जानुपर्ने कि ? मैले कुरा गर्नुपर्ने हो कि ? सरकारले कुरा गरेर टुंग्याउनुपर्ने हो ? त्यो असरल्ल परेको त्यो बाटो छ, मेरो मर्यादा र संस्कारले दिँदैन । तर पनि यसपाली पनि त्यो बाटोबारे बजेटमा पैसा परेन भने बजेट भाषणपछि त्यो पुस्तिका च्यात्नुभन्दा मेरो अघि अर्को विकल्प छैन । किनभने पार्टीको गठबन्धन सरकारको अंग हुँदाहुँदै पनि त्यो भन्दा पनि मेरो जनताले दिएको मत हो, म त्यहाँका जनप्रतिनिधि हुँ । त्यसकारण त्यसको विकल्पको रुपमा त्यसलाई त्यातेर संसद्मै धर्ना बस्नुपर्ने हो कि ? जिल्लाबाट प्रतिकार गर्न पनि म बाध्य छु । यो कुरा धेरैपटक अर्थमन्त्रीसँग व्यक्तिगत रुपमा पनि आग्रह गरेको छु यसलाई सम्बोधन गर्नुहोला ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया