बजेट असमानताको खाडलबाट उक्सिनसक्ने दस्ताबेज बन्नुपर्छ : जनार्दन शर्मा

लोकपथ
63
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले आर्थिक क्षेत्रको पुनर्संरचना गरेर मात्रै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद शर्माले यस्तो बताएका हुन् ।  

उनले आगामी बजेट आम्दानी र खर्चको फाँटमात्र नभएर देशको समृद्धिको असमानताको खाडलबाट उक्सिन नसकेका जनतालाई माथि उठाउने उद्देश्यमूलक दस्ताबेजको रूपमा प्रस्तुत हुने अपेक्षा रहेको बताए ।  

उनले बजेटमा चालु खर्च ६५ प्रतिशतलाई ३५ प्रतिशतमा झार्नेगरि आएमा आफूहरुको पूर्ण समर्थन रहने बताए । राजश्व १० खर्बको वरिपरि मात्र रहेको तर तानतुन गरेर दुई चार खर्ब थपेर बजेट बनाउँदा जनअपेक्षा पूरा नहुने बताए । साथै उनले आर्थिक पुनर्संरचना आवश्यक रहेको बताए । 

उनले भने, ‘मन्त्रीज्यूको इच्छा आकांक्षा त पक्कै छ नै गर्नुहुन्छ नै । तर, हाम्रो कर्मचारी तन्त्रले सबै बन्द गरिसक्यो । माननीयज्यूहरूले आज राखेका भनाइहरूलाई बजेटपछिपनि यही स्तरमा सुन्न चाहन्छु । बजेटलाई एउटा आम्दानी खर्चको फाँटवारीमात्र नभएर हामीले एउटा देशको समृद्धिको सामाजिक न्यायको र असमानताकाृ खाडलबाट उक्सिन नसकेका जनतालाई माथि ल्याउने एउटा उद्देश्यमूलक दस्ताबेजको रूपमा प्रस्तुत हुनेछ भन्ने विश्वास लिन चाहन्छु । बजेट बनाउँदा जनअपेक्षा पूरा गर्ने स्रोत हामीसँग छैन । त्यो स्रोत कहाँबाट ल्याउने ? बजेटको ६५ प्रतिशत चालु खर्चमा जाने गरेको छ । १७ प्रतिशत मात्र पुँजीगत खर्च हो त्यो पनि खर्च हुँदैन । त्यस कारण त्यो ६५ लाई ३५ मा झार्नेगरि ल्याउनुस् हाम्रो समर्थन रहनेछ । त्यसका लागि संरचनागत पुर्नसंरचना हो । चाहे राजनीतिक र प्रशासनिक क्षेत्रको हाम्रो आजको खर्च घटाउनुपर्छ । त्यसबाटमात्र बजेट बनाउन सक्नु हुन्छ । अन्यथा १० खर्बको वरीपरिमात्र आउँदै छ राजश्व । अरू तानतुन गरेर दुई चार खर्ब थप्नुहोला त्यसपछि बन्छ कसरी ? त्यस कारण आर्थिक पुर्नसंरचनाका लागि राष्ट्रिय बहस, राष्ट्रिय सहमति यस क्षेत्रमा आवश्यक छ भन्ने कुरा यसअघि पनि राखिसकेको छु । त्यस कारण विनियोजित बजेटबाट परिणाम हासिल गर्नका लागि संरचनागत सुधारको कुरामा कडा भन्दा कडा हुनुहोस् । दुई तिहाइको सरकार छ तपाईँहरूले गर्नुभयो भने हाम्रो पनि सहमत हुनेछ । भूकम्पको शीर्षकमा बजेट छुटिएको छैन भन्ने जानकारी पाएको छु । त्यसो नगरियोस् भूकम्पको पुनर्निर्माणका लागि सबै क्षेत्रको बजेट छुट्याइयोस् । विगतमा मैले नै ५३ मिनेटमा चितवनको टाँडी पुग्नेगरि डिपिआर भइसकेको र सो डिपिआर लगानी बोर्डलाई हस्तान्तरण भैसकेको अवस्था छ त्यसमा बजेट हाल्नुपर्ने अवस्था छैन तर नीतिमा ल्याउनुहोस् । त्यसमा कुनै लगानीकर्तालाई टोल उठाएर त्यसको पैसा तिर्ने अवस्था बन्यो भने ५३ मिनेटमा चन्द्रागिरिको मुनिबाट सिधै थाहा नगरपालिका हुँदै चितवन पुग्ने बाटो बन्छ यो बनाऊँ । यसले जनधनको क्षति पनि कम हुने र समय पनि बचत हुनेछ । त्यसैगरि ४८ घण्टा घुमाउरो यात्रा गर्ने जुम्लाका जनताका लागि जाजरकोट र जुम्लाको बिचको टोप्ला लेकको चार किलोमिटरको टनेल बनाउन सके १२ घण्टामा जुम्लाका जनता काठमाडौं आइपुग्न सक्छन् । त्यसैले तुलनात्मक लाभ भएका क्षेत्रहरू पहिचान गरौँ ।’ 

उनले जनजीविकाका सवालमा शिक्षा, स्वास्थ्य र रोजगारीमा सुधार हुन नसक्दा जनतामा निराशा भएकोले जनताको निराशा चिर्ने गरी अघि बढ्न सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?