क्यानको सेन्ट्रल कन्ट्र्याक्टबाट बाहिरिने सन्दीप लामिछानेको घोषणा  

लोकपथ
5.5k
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने निर्णय गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत आफू सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने निर्णय गरेको उनले बताएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान लामिछानेले लेखेका छन्, ‘धेरै सोचविचार पछि मैले यस पटकको लागि नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौताअन्तर्गत निरन्तरता नदिने निर्णय गरेको छु । यो क्रिकेट वा मेरो राष्ट्रबाट एक कदम टाढा होइन– यो व्यक्तिगत र व्यावसायिक रूपमा विकास गर्ने दिशामा एक कदम हो,’ सन्दीपले लेखेका छन् ।

आज बुधबार आगामी सिरिजका लागि टोलीलाई क्यानले बिदा गरेको केही समयपछि नै उनले क्यानसँगको सम्झौतालाई निरन्तरता नदिने निर्णयमा पुगेको घोषणा गरेका हुन् । 

स्कटल्यान्डमा हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज र युके भ्रमणका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको आज नै बिदाइ गरिएको थियो । 

स्कटल्यान्ड सिरिजअघि नेपालले बेलायतमा ५ खेल खेल्नेछ । ‘राइनोज टुर अफ युके’ भ्रमणका क्रममा नेपालले ओडीआई र टी–२० खेल खेल्नेछ । 

सिरिजका लागि नेपालले शनिबार रोहित पौडेलको कप्तानीमा अन्तिम टोलीको घोषणा गरेको थियो । टोलीमा उपकप्तानको जिम्मेवारी दीपेन्द्र सिंह ऐरीलाई दिइएको छ ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान) दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, भीम सार्की, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, ललित राजवंशी, नन्दन यादव र रिजन ढकाल छन् । 

टी–२० आई सिरिजका लागि  किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंह थपिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?