काठमाडौं । गरिब राष्ट्रपति भनेर विश्वभर कहलिएका उरुग्बेका पूर्व राष्ट्रपति जोसे मुजिकाको निधन भएको छ ।
‘पेपे’ उपनामले चिनिएका उनको ८९ वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ । उनी सन् २०१० देखि २०१५ सम्म उरुग्वेको राष्ट्रपति बनेका थिए ।
उनको अन्ननलीमा क्यान्सर रहेको र सोही कारण निधन भएको बताइएको छ ।
उनको सामान्य जीवनशैलीका कारण उनलाई विश्वभरी नै गरिब राष्ट्रपतिका रुपमा परिचित गरायो । साथै उनले अवलम्बन गरेको साधारण जीवनशैली, उपभोक्तावादको आलोचना र प्रवरृद्धन गरेका सामाजिक सुधारका कारण उनी ल्याटिन अमेरिका र विश्वभर परिचित हुन पुगे । उनले उरुग्वेमा गाँजाको मनोरञ्जनात्मक प्रयोगलाई वैधानिकता दिने पहिलो देश बनाएका थिए ।
केवल ३४ लाख जनसंख्या मात्रै सानो देश उरुग्वेलाई विश्वभर चिनाउन पेपेको भूमिका महत्वपूर्ण रहेको मानिन्छ ।
उनको देशमा भने उनलाई राजनीति बाहिरको वर्गका रुपमा समेत आलोचना गर्ने गरिएको थियो ।
युवावस्थामा पेपे उरुग्वेको परम्परागत राजनीतिक शक्तिमध्ये एक मानिने नेशनल पार्टीको सदस्य बनेका थिए । साथै सन् १९६० को दशकमा उनले तुपामारोस राष्ट्रिय मुक्ति आन्दोलन स्थापना गर्न मद्धत गरेका थिए । वामपन्थी शहरी छापामार समूहका नामले चिनिएको उक्त आन्दोलन जसले अन्याय र अत्याचारविरुद्ध आक्रमण, अपहरण र मृत्युदण्ड दिने काम समेत गरेको बताइन्छ । तर पेपे आफूले त्यस्ता कुनै पनि काम नगरेको दाबी गर्ने गर्दथे ।

पेपे लगायतले क्युबाली क्रान्ति र अन्तराष्ट्रिय समाजवादबाट प्रभावित भएर उरुग्वे सरकारविरुद्ध गोप्य प्रतिरोध अभियानको सुरुवात गरेका थिए । जसलाई तत्कालीन वामपन्थीहरु नेताहरुले अधिनायकवादी भएको आरोप लगाएका थिए ।
क्रान्तिमा होमिएपछि पेपे ४ पटक पक्राउ परेका थिए, सोही बेला सन् १९७० मा उनमाथि ६ पटक गोली प्रहार समेत भएको थियो, तर उनी बालबाल बच्न सफल भए । साथै उनलाई चारपटक पक्राउ समेत गरिएको थियो । पटकपटक जेल परे पनि उनी लगायत अभियानमा लागेकाहरु जेल नै ‘ब्रेक’ गरेर भाग्न सफल भएका थिए । जसलाई उरुग्वेकै इतिहासमा चर्चित जेल ब्रेकको घटनाको रुपमा लिइन्छ ।
उनी सन् १९७० र १९८० को दशकमा गरी १४ वर्ष भन्दा बढी समय जेलमा बिताए । सन् १९८५ मा उरुग्वेमा प्रजातन्त्र स्थापना भए पनि उनी रिहा भएनन् । कठोर यातना र एक्लोपनामा बिताएका उनले कमिलासँग समेत कुरा गरेको रिहा भएपछि बताएका थिए । जेलमा रहँदा आफूले पागलपनको अनुभव गरेको, भ्रमबाट पीडित भएको र जेलबाट मुक्त भएको दिन सबैभन्दा खुसीको क्षण रहेको उल्लेख गरेका छन् । उनले राष्ट्रपति बनेको दिन भन्दा बढी खुसी सोही दिन मिलेको बताएका थिए ।
छापामारदेखि राष्ट्रपतिसम्म
रिहा भएपछि उनी केही वर्षपछि उनी देशको तल्लो र माथिल्लो सदन सिनेटको क्रमशः सांसदको रुपमा काम गरेका थिए ।
उनी सन् २०१० मा उरुग्वेको राष्ट्रपति बन्नुअघि, २००५ मा उरुग्वेको वामपन्थी गठबन्धन, फ्रेन्टे एम्प्लियोको पहिलो सरकारमा मन्त्री समेत बनेर काम गरेका थिए ।
७४ वर्षको उमेरमा राष्ट्रपति बनेका उनको प्रशासनले राम्रो काम गर्न सकेका कारण देशको अर्थतन्त्र औषत वार्षिक ५ दशमलव ४५ प्रतिशतले वृद्धि भयो साथै गरिबी हट्यो र बेरोजगारीदर समेत कम भएको थियो ।
उरुग्वेले ती वर्षहरूमा संसदले पारित गरेका सामाजिक कानूनहरू, जस्तै गर्भपतनको वैधानिकता, समलिङ्गी विवाहको मान्यता र गाँजा बजारको राज्य नियमनको लागि विश्वव्यापी ध्यान पनि आकर्षित गर्यो ।
राष्ट्रपति हुँदा सरकारी निवास छाडेर श्रीमतीसँगै घरमा बसे
जब उनी राष्ट्रपति बने तब उनलाई सरकारी निवासमा सर्न भनियो । तर उनी राष्ट्रपतिको सरकारी निवासमा नबसेर आफ्नी श्रीमती राजनीतिज्ञ एवं पूर्व छापामार लुसिया टोपोलान्स्कीसँग राजधानी मन्टेभिडियो भन्दा बाहिरको शहरमा रहेको सामान्य घरमा बसे, त्यो पनि घरेलु सहायता र सुरक्षा बिना । उनी सधैँ अनौपचारिक ड्रेसमै भेटिन्थे ।

राष्ट्रपति रहँदा समेत उनी प्रायः आफ्नो हल्का नीलो १९८७ को फक्सवागन बीटल चलाएको देखिन्थ्यो र आफ्नो तलबको ठूलो भाग दान गर्थे, जसले गर्दा केही मिडियाहरूले उनलाई ‘विश्वको सबैभन्दा गरिब राष्ट्रपति’ भनेर सम्बोधन गर्ने गरेका थिए । उनको साधारण जीवनशैलीलाई लिएर मिडियाहरुले दिएको उक्त उपाधीलाई भने उनले सधैँ अस्वीकार गरे ।
आफूलाई गरिब राष्ट्रपति भन्ने गरेको विषयमा उनी भन्ने गर्दथे, ‘तिनीहरू (मिडिया) भन्छन् कि म सबैभन्दा गरिब राष्ट्रपति हुँ । तर होइन, गरिबहरू ती हुन् जो धेरै चाहन्छन् । किनभने तिनीहरू अनन्त दौडमा छन् ।’
जीवनशैलीकै कारण पेपे नेतृत्वको सरकार मितव्ययी थियो भन्ने गरिन्छ, तर उनको सरकारले सार्वजनिक खर्चमा उल्लेखनीय वृद्धि गर्यो, वित्तीय घाटा बढायो र उनका विरोधीहरुले उनीमाथि बर्बादीको आरोप समेत लगाउन थालेका थिए ।
त्यस्तै उनलाई उरुग्वेको शिक्षामा बढ्दो समस्याहरूलाई उल्टाउन असफल भएकोमा पनि आलोचना गरिएको थियो, यद्यपि उनले आफ्नो प्रशासनको लागि शिक्षा सर्वोच्च प्राथमिकता हुनेछ भन्ने वाचा गरेका थिए । तर अन्य नेताजस्तो भ्रष्टाचार र लोकतन्त्र कमजोर बनाउन लागेको आरोप भने उनीमाथि कहिल्यै लगाइएन् ।
राष्ट्रपतिको कार्यकाल सकेपछि उनी विश्वभर चर्चित नै रहे तर उनले सन् २०२० मा भने राजनीतिबाट सन्याश नै लिएर विश्वभर घुमेका थिए ।
गत वर्ष उनी आफैँले आफूलाई क्यान्सर भएको घोषणा गर्दै मृत्युको लागि तयार रहेको स्वीकार गरेका थिए ।
गत नोभेम्बरमा उनले बीबीसीलाई अन्तर्वार्ता दिँदै भनेका थिए, ‘कसैलाई थाहा छ कि मृत्यु अपरिहार्य छ । र सायद यो जीवनको नुन जस्तै हो ।’
पेपेको निधनप्रति विश्वका नेताहरुले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । साथै उनको सादगी जीवनशैलीको विश्वभर चर्चा भइरहेको छ ।
बीबीसीबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया