विराटनगर । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रमा जनताको जिउधनको सुरक्षा पहिलो सर्त भएको बताएका छन् । ।
गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशद्वारा आज आयोजित ‘कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी’को उद्घाटन गर्दै उनले सुशासन र समृद्धिका पक्षमा आवश्यक सुरक्षा व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
गृहमन्त्री लेखकले शान्तिसुरक्षा कायम गर्ने सवालमा कसैसँग सम्झौता नगर्ने स्पष्ट गर्दै आपराधिक गतिविधिमा संलग्न जोसुकै भए पनि तिनलाई कानुनी दायरामा ल्याई दण्डित गर्न सुरक्षा निकायलाई निर्देशन दिए। मुलुकको संविधान र शासन व्यवस्था विरोधी गतिविधि सैह्य नहुने उल्लेख गर्दै उनले तोकिएको कानुनी व्यवस्था कार्यान्वयन गर्नेक्रममा सेवाग्राही जनताको काममा ढिलाइ गर्ने छुट राष्ट्रसेवक कर्मचारीलाई नभएको बताए ।
गृहमन्त्री लेखकले सुमधुर सम्बन्धसहित आमजनतालाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न राष्ट्रसेवक कर्मचारलाई निर्देशन दिए । उनले सीमा क्षेत्रमा हुने चोरी निकासीजस्ता आपराधिक गतिविधिको न्यूनीकरण तथा नियन्त्रणका क्षेत्रमा ३० दिनभित्र अनुभूति हुने किसिमले काम गर्न सुरक्षा निकायलाई निर्देशन दिए ।
देशको रक्षासहित जनताको जिउधनको सुरक्षा गर्ने दायित्व राज्यको भएको उल्लेख गर्दै उनले लागु औषधिको कारोबार, आत्महत्या, साइवर अपराध र सवारीसाधन दुर्घटनाको न्यूनीकरण तथा नियन्त्रणका लागि सुशासनमा जोड दिनुपर्ने धारणा व्यक्त गरे ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समाजका हरेक क्षेत्रमा देखिएको विकाससँगै चुनौती पनि थपिएकाले त्यसतर्फ सुरक्षा निकायको विशेष ध्यान जानुपर्ने धारणा व्यक्त गरे ।
उनले कोशी प्रदेशमा जातीय र पहिचानवादीका कारण शान्ति सुरक्षामा केही समस्या सिर्जना भएको चर्चा गर्दै लोकतान्त्रिक शासन व्यवस्थालाई आत्मसाथ गसिकेको नेपाली समाज अब एकात्मक व्यवस्थामा जान नसक्ने स्पष्ट गरे।
आन्तरिक मामिला तथा कानु नमन्त्री रेवतीरमण भण्डारीले खुला सीमाका कारण अवैध चोरी निकासी भई राजस्व चुहावट भइरहेकोतर्फ सुरक्षा निकायसहित राष्ट्रसेवक कर्मचारीको विशेष ध्यान जानुपर्ने बताए ।
गृह सचिव गोकर्णमणि दुवाडीको अध्यक्षतामा सञ्चालित सो कार्यक्रममा गृहमन्त्रालयका सहसचिव रामचन्द्र तिवारी, नेपाल प्रहरीका प्रमुख दीपक थापा, सशस्त्र प्रहरीका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धानका प्रमुख निर्देशक हुतराज थापा, कोशी प्रदेशका सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारीहरूको सहभागिता रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया