डीएसपी राउतले तस्करी खुलाउँदा आईजीपी अर्यालको अनुहार मलिनो, गृहमन्त्रीले नै दिए सुरक्षा गोष्ठीमा चेतावनी

लोकपथ
8.4k
Shares

काठमाडौं । पछिल्ला दिनमा कोशी प्रदेशको सीमानाकाबाट व्यापकरुपमा तस्करी बढेपछि गृह मन्त्रालयले आफै ‘एक्सन’ मा उत्रने तयारी गरेको छ । सीमानाकाबाट हुने तस्करी नियन्त्रणको पहिलो जिम्मेवारी सशस्त्र प्रहरीको हो । तर कोशी प्रदेशमा कार्यरत सशस्त्रकै जिम्मेवार अधिकृतले तस्करसँग मिलेर कमाउधन्दालाई तीव्रता दिएपछि संगठन सुधारमा निष्कलंक छवि बनाएका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पनि त्यसको अपजस बेहोर्नु परेको छ ।

विराटनगरमा आज बुधबारदेखि सुरु भएको कोशी प्रदेशस्तरीय दुई दिने सुरक्षा गोष्ठीको उद्घाटन सत्रमा पनि गृहमन्त्री रमेश लेखकले यो विषयलाई गम्भीरताका साथ उठाए । उद्घाटन सत्रमा बोल्दै गृहमन्त्री लेखकले कोशी प्रदेशको सीमा क्षेत्रमा बढ्दो तस्करीप्रति गम्भीर चिन्ता मात्रै व्यक्त गरेनन्, सम्बन्धित सुरक्षा निकायलाई कडा निर्देशनसमेत दिए । तस्करी नियन्त्रणमा ३० दिनभित्र ‘अनुभूति हुनेगरी’ काम गर्न उनले निर्देशन दिएका थिए । 

गृहमन्त्री लेखकको भनाइ थियो, ‘तस्करीले अपराध बढाएको छ, राजस्व घटाएको छ, मुलुकमा नकारात्मक असर गरेको छ, तस्करी तुरुन्त रोक्नुपर्छ, होइन भने गृह मन्त्रालयले अर्को एक्सन लिन्छ ।’

गृहमन्त्री लेखकले तस्करी नरोके मन्त्रालयले एक्सन लिने बताइरहँदा कार्यक्रममा उपस्थित सशस्त्र प्रहरी महानिरीक्षक अर्याल भने चिन्तित मुद्रामा देखिन्थे ।

गोष्ठीमा गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू तथा कोशी प्रदेशका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरूको सहभागिता छ ।    

संगठन प्रमुख बनेपछि सिंगो सशस्त्र प्रहरी संगठनलाई सुधार्न लागिपरेका अर्यालले कमान्ड सम्हाल्न जाने अधिकृतहरूलाई निर्देशन सम्बोधनका क्रममा संगठनले लिएको ‘भ्रष्टाचारमा शून्य सहनशीलता’ नीति नभुल्न र संगठनको नीतिबाहिर गए कडा कारबाही गर्ने चेतावनी पनि दिँदै आएका छन् । तर पछिल्ला दिनमा कमान्डरहरूले नै तस्करसँग मिलेर तस्करी धन्दा सञ्चालन गर्न थालेपछि सशस्त्र प्रहरी महानिरीक्षक अर्याल स्वयं तनावमा छन् । सुरक्षा गोष्ठीमै आफ्नै अधिकृतहरूको कामकारबाहीबारे गृहमन्त्रीले प्रश्न उठाएपछि उनी थप चिन्तित देखिन पुगेको गोष्ठीमा सहभागी एक अधिकृतले बताए । 

सशस्त्र प्रहरी स्रोतहरूका अनुसार, गृहमन्त्री लेखक कोशी प्रदेशको हकमा यो हदसम्म सशस्त्र प्रहरीको काम कारबाहीप्रति असन्तुष्ट हुनुमा विराटनगरस्थित रानी भन्सार नाकाबाट भइरहेको खुलेआम तस्करी हो । सशस्त्र प्रहरी स्रोत भन्छ, ‘पछिल्ला दिनमा सीमा नाकाबाट तस्करीले हद पार गरेको छ । विशेषगरी रानी भन्सारबाट हुने तस्करी नरोकिँदा प्रदेश सुरक्षा गोष्ठीमा गृहमन्त्री लेखकले मन्त्रालयले एक्सन लिन नपरोस् भन्ने चेतावनी दिएका हुन् ।’ 

रानी भन्सारबाट हुने तस्करीमा सशस्त्र प्रहरीका डीएसपी ऋषिकेश राउतको प्रत्यक्ष संलग्नता रहेको स्रोतको भनाइ छ । ‘उनकै कारण दिनदहाडै तस्करी मौलाइरहेको छ, उनी आफै तस्करीको लाइन खुलाउन उद्धत छन्, त्यसको अपजस भने सिंगो संगठनले लिनु परेको छ,’ स्रोत भन्छ ।

रानीस्थित प्रस्तावित सीमा सुरक्षा गुल्ममा कार्यरत राउत शक्तिकेन्द्रको आडमा कमाउधन्दाकै लागि प्रधान कार्यालयबाट त्यहाँ गएको बताइन्छ । उनको तस्करी धन्दाबारे पटक पटक मुख्यालयमा उजुरीसमेत परेको स्रोतको भनाइ छ । 

संगठन सुधारमा निष्कलंक छवि बनाएका महानिरीक्षक अर्यालले रानी नाकाबाट हुने तस्करी रोक्न तत्काल राउतमाथि कारबाही प्रक्रिया अघि बढाउनु पर्ने अवस्था आएको कार्यक्रममा सहभागी एक कमान्डरले बताए । 

एउटा कमान्ड क्षमता नभएको र तस्करी धन्दामा लिप्त डीएसपीका कारण संगठनको साख गिरेको स्रोतको भनाइ छ । ‘जसका कारण गृहमन्त्रीले नै बोल्नुपर्ने अवस्था आयो,’ स्रोतले भन्यो । 

यता, सशस्त्र प्रहरीका तर्फबाट कोशी प्रदेशको शान्ति सुरक्षा र तस्करी नियन्त्रणको जिम्मेवारी बाहिनीपति कुमार न्यौपानेको हो । डीआईजी न्यौपानेले बाहिनीपतिको जिम्मेवारी ग्रहण गरेको दुई साता पनि बितेको छैन । तर उनी स्वयं उपस्थित सुरक्षा गोष्ठीमा गृहमन्त्री लेखकबाट कोशी प्रदेशमा भएका काम कारबाहीमाथि प्रश्न उठ्नु उनका लागि पनि लज्जाको विषय हो । तर, आगामी माघ मसान्तमै अवकाशमा जान लागेका न्यौपाने अवकाशपछिको सुखद जीवनका लागि १ नम्बर बाहिनी गएको र उनको कार्यकालमा कोशी प्रदेशमा तस्करी थप बढ्ने भन्ने जमात पनि ठूलै छ । 

उनीभन्दा अघिका बाहिनीपति शम्भु सुवेदीमाथि आफ्नो कार्यकालमा तस्करीका नाका खुलाएको गम्भीर आरोप छ । गम्भीर रोगसँग जुधिरहेका डीआईजी सुवेदीले महिनाकै डेढ लाख रुपैयाँ औषधिमा खर्च गर्नुपर्छ । सुवेदीभन्दा अघिका बाहिनीपति अञ्जनी पोखरेलले भने सीमानाकामा कडाइ गरेका थिए । उनको कार्यकालमा कोशी प्रदेशबाट राजस्व पनि धेरै नै उठेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?