काठमाडौं । काठमाडौं महानगरपालिका–२४ मखन टोलमा भीषण आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ ।
प्रहरीकाअनुसार आगलागीमा परी एक महिलाको ज्यान गएको हो तर मृतकको पहिचान खुल्न बाँकी छ।
घटना सुरज आर्केड पछाडि रहेको दयाराम श्रेष्ठको माटो र काठले निर्मित चार तले कच्ची घरको तेस्रो तल्लाबाट सुरु भएको बताइएको छ।
प्रारम्भिक जानकारीअनुसार ग्याँस लिक भएर आगो लागेको हो । त्यसपछि आगो छेउमै रहेको रुकेश श्रेष्ठको पक्की पाँच तले घरमा समेत फैलिएको छ।
आगो नियन्त्रणका लागि काठमाडौं उपत्यकाबाट ६ वटा दमकल परिचालन गरिएको छ। जुद्ध बारुद २, नेपाल आर्मी, ललितपुर महानगरपालिका, रामहिटी, र बालाजु औद्योगिक क्षेत्रबाट दमकलहरू घटनास्थलमा पुगेर आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । साथै सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरी पनि खटिएका छन् ।
भीषण आगलागीका कारण घर तथा आसपासका संरचनामा ठूलो क्षति पुगेको अनुमान गरिएको छ। आगो पूर्ण रूपमा निभाउन सुरक्षाकर्मीहरू निरन्तर प्रयासरत छन्। स्थानीयवासीहरू भने त्रसित अवस्थामा बाहिर निस्किएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया