बिहेघरमा करेन्ट लाग्दा दुईको मृत्यु, एक घाइते

लोकपथ
2.8k
Shares

काठमाडौं । मोरङको रतुवामाई नगरपालिका–३ मिर्चा डाँगी टोलमा आयोजित एक विवाह समारोहमा करेन्ट लाग्दा दुई वृद्ध महिलाको मृत्यु भएको छ भने एक जना सामान्य घाइते भएकी छन् ।

घटना वैशाख ३० गते राति करिब ८ बजेतिर भएको हो । स्थानीय मंगललाल सिंहका छोरा निरजकुमारको विवाहका अवसरमा घरमा नाचगान भइरहेका बेला अचानक आएको हावाहुरीले दुर्घटनाको रुप लिएको हो।

समारोहस्थलमा माइक जडानका लागि नजिकैको हाइटेन्सन लाइनको छेउमा हरियो बाँस गाडिएको थियो। हावाहुरीका कारण उक्त बाँस ढल्दै हाइटेन्सन लाइनमा ठोक्किएर विद्युत सर्किट भएको र त्यही बेला उपस्थित ७० वर्षीया रामुदेवी गनगाईं, ७३ वर्षीया सुर्यदेवी गनगाईं र ३० वर्षीया राधाकुमारी सिंहलाई करेन्ट लागेको प्रहरीले जानकारी दिए।

तीनै जना घाइतेमध्ये रामुदेवी र सुर्यदेवीलाई गम्भीर अवस्थामा रंगेली अस्पताल पुर्याइए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए। राधाकुमारी सिंह भने सामान्य घाइते भएकी छन्।

स्थानीय प्रशासन र प्रहरी घटनाको थप अनुसन्धानमा जुटिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?