विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सामान्य र कर्मकाण्डी : प्रकाश ज्वाला

लोकपथ
28
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता हेर्दा सामान्य, कर्मकाण्डी भएको बताएका छन् ।  

प्रतिनिधि सभाको मंगलबारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद ज्वालाले सरकारले ल्याएको नीति तथा कार्यक्रममा उल्लेख भएका विषय केही छाँटकाँट गरेर प्रस्तुत गरिएको आरोप लगाएका हुन् । 

उनले सिद्धान्त र प्राथमिकता हेर्दा बजेट फेरिपनि भुँइमान्छे र आधारभूत वर्गको पक्षमा आउने विश्वास गर्न नसकिने स्पष्ट पारे । 

सांसद ज्वालाले नीति तथा कार्यक्रम र प्राथमिकतालाई हेर्दा बजेट फेरिपनि दलाल, भूमाफिया, कालाबजारी र सम्पूर्ण रूपमा दलाल पुँजीपतिको हित र स्वार्थमा केन्द्रित भएर आउन सक्ने दाबी गरे । बजेटका प्राथमिकताहरू हेर्दा उत्साह, ऊर्जा र जनमुखी या उत्पादन र रोजगारी सिर्जना गर्ने खालको आउँछ भन्ने नदेखिएको उनको भनाइ थियो । 

उनले भने, ‘हामीले दिएको सुझाव अक्षरस पालना गर्नुभएको अनुभूति भएको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रम जस्ताको तस्तै फोटोकपीको रूपमा आएको छ । दुई वटा दस्ताबेज ल्याउनै पर्दैनथ्यो । केही छाँटकाँट गरेर यहाँ प्रस्तुत गरिएको छ । बजेटका प्राथमिकताहरू बजेट कस्तो आउँछ भन्ने हुनुपर्थ्यो तर त्यसो हुन सकेन । र, एउटा सामान्य फेरि पनि कर्मकाण्डी ल्याउनै पर्ने हो भन्ने हिसाबले आएको छ । त्यसैले प्राथमिकताहरू हेर्दा जनतालाई उत्साह दिने खालको ऊर्जा दिने खालको र बजेट यो मार्गदर्शनमा बजेट जनमुखी आउँछ, विकासमैत्री आउँछ, उत्पादन र रोजगारी सिर्जना गर्ने खालको आउँछ भन्ने देखिँदैन । बरु नीति तथा कार्यक्रम र प्राथमिकतालाई हेर्दा फेरि पनि दलाल, भूमाफिया, कालाबजारीहरु अर्थात् सम्पूर्ण रूपमा दलाल पुँजीपतिहरूको हित स्वार्थमा केन्द्रित भएर आउने आशंका गर्न सकिन्छ । त्यस कारण सिद्धान्त र प्राथमिकता हेर्दा बजेट फेरिपनि भुईँ मान्छेहरूको पक्षमा, जनताको पक्षमा, आधारभूत वर्गको पक्षमा आउने विश्वास गर्न सकिँदैन । बजेटले भनेको एउटा कुरा अत्यन्त महत्त्वपूर्ण छ बजेटका सिद्धान्त र प्राथमिकतामा आर्थिक सुधार, उद्यमशीलता, उत्पादन र रोजगारीका थप अवसर सिर्जना गर्दै मानवीय र भौतिक विकासमा तीव्रता दिन र लोकतान्त्रिक मूल्यमा आधारित समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको आधार तयार गर्न सम्पूर्ण स्रोत साधन र सामर्थ्यको परिचालन गर्न जरुरी छ । वास्तवमा बजेटमा टेक्ने ठाउँ पनि यही नै हो । यो प्रतिविद्धताअनुसार बजेट ल्याउन सक्नु हुन्छ कि सक्नुहुन्न ? यो प्राथमिकता र प्रतिबद्धतालाई बजेटमा रिफ्लेक्स गर्न सकिन्छ कि सकिँदैन ? मूल कुरा यही हो ।’

उनले बजेटले आर्थिक सुधार, उद्यमशीलता, उत्पादन र रोजगारीका थप अवसर सिर्जना गर्दै मानवीय र भौतिक विकासलगायतका विविध विषयमा सम्पूर्ण स्रोत साधन र सामर्थ्यको परिचालन गर्नु जरुरी रहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?