काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ सरकारमाथि गरिने आलोचना र खण्डनहरू स्वीकार गर्न आफूहरू तयार रहेको बताएका छन् ।
मंगलबार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले बिग्रिएको ठाउँमा आलोचना गर्न आग्रह गर्दै विरोधका लागि मात्रै विरोध नगर्न सचेत गराए । उनले मिडिया काउन्सिल विधेयक अन्तिम चरणमा पुगेको बताए । नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जालहरूले नेपालको कानुन मान्नैपर्ने उनको भनाइ छ ।
मन्त्री गुरुङले भने, ‘तपाईँहरू सबैले आलोचना गर्नुस् हामीलाई । हाम्रा कुराहरू खण्डन हुनसक्छ । त्यो हामी स्विकार्न तयार छौँ । कहाँ बिग्रियो त्यो भन्नुहोला । देशको हितमा, यो क्षेत्रको हितमा । जनताको हितमा कहाँ भएन ? लोकतन्त्रको हितमा कहाँ भएन भन्नुहोला । त्यो हामी सहस्र स्विकार्न तयार छौँ । विरोधका लागि विरोध गर्ने भाष्य विकास भइरहेको छ । त्यसको व्यवस्थापनको कुरा गर्दा त्यहाँ पनि हामीले ठूलो ठूलो समस्या भोग्नुपरेको छ । मिडिया काउन्सिल विधेयक अन्तिम चरणमा पुगेको छ । यति धेरै पैसा कमाउने, सोसल नेटवर्क प्लेटफर्महरू छन् । त्यसको प्रयोग जसले गरिरहेको छ । त्यसले नेपालको संविधान मान्नुपर्ने की नपर्ने ? नेपालको कानुन मान्नुपर्ने की नपर्ने ? तपाईँहरू सबैले नेपालको कानुन मान्नुपर्छ । मैले पर्छ, प्रधानमन्त्रीज्युले पर्छ । राष्ट्रपतिज्यूले मान्नुपर्छ । अनि तिनले मान्न नपर्ने भन्ने हुन्छ र दुनियाँमा । त्यसको पक्षमा हामी किन लागिरहेका छौँ । त्यसको नियमन जरुरी छ ।’
मन्त्री गुरुङले सोसल नेटवर्कको प्रयोग, सञ्चालन र नियमन गर्ने विधेयक संसद्मा पेस भइसकेको र चाँडो भन्दा चाँडो पारित गर्ने बताए । साइबर क्राइम नियन्त्रण गर्ने कुरा मन्त्रालयको पहिलो प्राथमिकता भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया