कानुन र नीतिगत सुधारलाई प्राथमिकतामा राखेका छौँ : गृहमन्त्री लेखक

लोकपथ
49
Shares

विराटनगर ।  गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारले कानुन र नीतिगत सुधारलाई प्राथमिकतामा राखेको बताएका छन् । 

एकीकृत भन्सार जाँच चौकी रानी विराटनगरमा  प्रादेशिक आपत्कालीन गोदामघर हस्तान्तरण गर्दै गृहमन्त्री लेखकले विपद्को जोखिम भूगोलमा निर्भर रहने भएकाले यसबाट हुने हानि–नोक्सानीलाई न्यूनीकरण गर्न सुरक्षा निकाय चनाखो रहनुपर्नेमा जोड दिए ।

गृहमन्त्री लेखकले आपत्कालीन गोदामघर सात वटै प्रदेशमा रहेको जानकारी दिँदै यस्तो कामले संघीयताको अभ्यासमा मद्दत पुगेको बताए । उनले यस्तो गोदामघर पालिका तहमा पनि राख्नुपर्ने भन्दै आपत्को समयमा यसमा भण्डारणका रूपमा रहेको सामग्रीले जनतालाई राहत पुग्ने विश्वास व्यक्त गरे ।

सरकारले १० महिनाको अवधिमा धेरै सुधारका काम गरेको उल्लेख गर्दै उनले सरकारले छिट्टै नै शिक्षक सेवा ऐन, निजामती सेवा ऐन पारित गर्ने जानकारी दिए । गृहमन्त्री लेखकले सरकारले सुशासन मार्फत जनतामा आशा जगाएको जिकिर गर्दै सरकार स्थायित्वको सन्देश पनि जनतामा दिएको बताए ।

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अहिले सरकारबाट प्रदेश सरकारले क्रमशः अधिकार प्राप्त गरिरहेको तथा प्रदेश सरकारले यातायातका क्षेत्रमा ठूलो उपलब्धि हासिल गरेको जानकारी दिए । उनले प्रदेश सरकारलाई संघीय मातहतमा रहेका सुरक्षाकर्मीबाट सहयोग प्राप्त भइरहेको बताए । कोशीका मुख्यमन्त्री कार्की र गृहमन्त्री लेखकले हस्तान्तरण कागजातमा हस्ताक्षर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?