प्रधानमन्त्री ओलीको दाबी– ‘हामीले कुरा गरेपछि भारत–पाकिस्तान युद्ध रोकियो’

लोकपथ
7.5k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युद्ध हुनु अगावै दुई देशले संयमता अपनाएकोप्रति भारत र पाकिस्तानलाई धन्यवाद दिएका छन् ।

सोमबार २५६९ औँ वुद्धजयन्तीका अवसरमा लुम्बिनीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुवै देशलाई धन्यवाद दिएका हुन् ।

त्यस्तै दुई मित्र राष्ट्रबिच तनाव नहोस् भन्नका लागि आफूहरुले बारम्बार कुराकानी गरेको र त्यसकै प्रतिफलस्वरुप युद्ध रोकिएको समेत दाबी गरे ।

‘झण्डैझण्डै केही दिन अगाडि मात्रै हाम्रै छिमेक भारत र पाकिस्तानको अलिकति हात हालाहाल भएको थियो तर बढ्न पाएन । संयमका लागि धन्यवाद छ । हामीले सुरुदेखि भन्यौँ, विस्तार हुन नपाओस् । यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने हामीले कामना गर्‍यौँ, उहाँहरुसँग पनि कुरा गर्‍यौँ । नभन्दै उहाँहरुले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । फेरि पनि केही केही आरोप प्रत्यारोपको स्थिति छ,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले बुद्धको सन्देशबारे प्रकाश पार्दै शान्तिका लागि दुई देशले बुद्धको सन्देशलाई अंगिकार गरेको संकेत गरे ।

‘बुद्धका शान्तिको सन्देशहरुको अर्थ अहिले पनि छ, जहाँ पनि छ, व्यक्तिलाई छ, व्यक्तिको आफ्नो मनस्थितिको शान्तिका लागि छ, परिवारको शान्तिका लागि छ र सबै कुराका लागि शान्तिको महत्व छ,’ प्रधानमन्त्री ओलीको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?